पुलिसमाथि एपीएफको शानदार जित


काठमाडौं ।

महत्वपूर्ण खेलमा जित निकाल्दै नेपाल एपीएफ क्लबले जारी एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरणमा लगातार तेस्रो जित हासिल गरेको छ। बिहीबार भएको विभागीय टोलीबिच भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि ६–० को एकपक्षीय जित हासिल गर्‍यो ।

खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिए पनि एपीएफको अगाडि पुलिस निरीह सावित भयो। एपीएफलाई शानदार जित दिलाउन कप्तान अनिता बस्नेतले ह्याट्रिक गरिन् भने सरु लिम्बूले २ र रेणुका नगरकोटीले १ गोल गरे।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको एपीएफले दोस्रो हाफमा चार गोल गरेको थियो । अनिताले खेलको ११औं मिनेटमा गोल गरेर टोलीलाई अग्रतामा राखिन् । ३७ औं मिनेटमा रेणुकाले गोल गरेपछि पहिलो हाफमा एपीएफ २–० को अग्रतामा रहेको थियो ।

दोस्रो हाफमा भने पुलिसले गोल फर्काउन कोसिस जारी गरेको थियो । तर, खेलको अन्त्यतिर भने नाटकीय शैलीमा एपीएफले ४ गोल थप्यो । जसमा, ८६ र ८७ औं मिनेटमा सरुले गोल गरे भने इन्जुरी समयमा अनिताले दुई गोल गरे । यी दुई गोलको सहयोगमा उनको ह्याट्रिक पनि पूरा भयो ।

यो जितसँगै एपीएफ तीन खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । पराजय बेहोरेपछि पुलिस चार खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । त्यति नै अंक जोडेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

आर्मीले अघिल्लो दिन वालिङ नगरपालिकामाथि १२–० को जित निकालेपछि गोल भिन्नतामा पुलिस पछि परेको हो । ३–३ खेल खेलेका वागमती र वालिङले भने अंक जोड्न सकेका छैनन् । आर्मी र एपीएफबिचको अर्को महत्वपूर्ण खेल शनिवार हुँदैछ ।