धनगढी अटो र्‍याली र अटोक्रस फागुनमा


काठमाडौं ।

सुदूरपश्चिम प्रदेश अटो मोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्‍याली र अटोक्रस आगामी फागुन १६ र १७ मा हुने भएको छ।

पत्रकार सम्मेलनमार्फत ‘धनगढी अटो र्‍याली र अटोक्रस’ आयोजनाको मिति सार्वजनिक गर्दै सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुष्करराज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनकोे संगम मोटर स्पोर्टस्लाई सुदूरपश्चिममा यस कार्यक्रमबाट सुरुआत गरिएको बताएका छन्।

सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले युवाहरूमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टस्ले सुदूरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताउनुभयो ।
धनगढीबाट शुरू गरिने अटो र्‍यालीमा न्यूनतम ५० वटा कार र जिप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुरामधामसम्म टीए.एस.डी फम्र्याटको र्‍यालीमा सहभागी हुनेछन्।

प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरी २ जनाको टिम रहेकामा टिम दर्ता शुल्क जम्मा पाँच हजार तोकिएको छ। जसको विजयीले क्रमशः ८१ हजार, २७ हजार र ९ हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सम्पूर्ण सहभागीलाई प्रमाणपत्र प्रदान गरिने छ।

त्यस्तै, चाँदनी दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिने छ, जसमा अटोर्‍यालीका सहभागीबाट २० ड्राईभरले अवसर पाउनेछन्। संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरूलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउने छन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडीया र तालिम प्राप्त मार्सलको व्यवस्था गरिएको पनि आयोजकले जनाएका छन्।

जुनसुकै क्षमता र डिजाइनका निजी कार र जिपलाई अटोर्‍यालीमा समावेश गराइने छ भने अटोक्रसमा १ हजारदेखि १६ सय सीसीसम्मका कारमात्र सहभागी हुनेछन्। नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइड लाइनअनुसार हुने दक्ष प्राविधिक र मार्सलहरूका सुपरिवेक्षणमा सञ्चालन हुने संघका तालिम तथा मार्सल कमिसनका सचिव आशिष रौनियारले बताउनुभयो।

सुदूरपश्चिम खेलकुद परिषद्का मुख्य सहयोग रहेको सो इभेन्टहरूमा पर्शुरामधाम नगरपालिका, स्थानीय उद्योग वाणिज्य संघहरू, अटोमोबाइल व्यवसायी संस्थालगायतका संघ संस्थाको सहयोग हुनेछ । उक्त पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर, संघका तालिम तथा मार्सल कमिसनका प्रमोद श्रेष्ठ, सचिव सुमन सैंजुलगायतले आफ्नो धारणा राखेका थिए ।