एनपीएलमा खेलेका गप्टिलद्वारा संन्यासको घोषणा


काठमाडौं ।

न्युजिल्यान्डका क्रिकेटर मार्टिन गप्टिलले खेलेको नेपाली क्रिकेट समर्थकले अब हेर्न पाउने छैन। नेपाली समर्थकले नेपालमै उनलाई हेरेका थिए।

हालैमात्र कीर्तिपुरको त्रिवि मैदानमा सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) मा गप्टिललाई नेपाली समर्थकले नजिकबाट हेर्न पाएका थिए। तर, अब हेर्न पाइने छैन। किनभने उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरिसके।

३८ वर्षीय ब्याटरले आधिकारिक रूपमा संन्यासको घोषणा गरेको न्युजिल्यान्ड क्रिकेटको वेबसाइटले जनाएको हो। नेपालमा पहिलोपटक सञ्चालन भएको एनपीएलमा गप्टिलले विराटनगर किंग्सबाट खेलेका थिए। एनपीएलमा खेल्ने उनी विश्वका चर्चित ब्याटरमध्ये एक हुन्।

गप्टिलले एनपीएलमा जनकपुर बोल्टस्विरुद्ध ४३ बलमै ५५ रन बनाएका थिए। उनी एनपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडीसमेत बनेका थिए । तर, यसपछि भने उनको ब्याटले त्यति रन बटुल्न सकेन। उनको टोली विराटनगर किंग्स प्लेअफमा पनि पुगेन भने जनकपुर बोल्टस् भने एनपीएलको विजेता बन्यो ।

गप्टिलले न्युजिल्यान्डका लागि तीनै फरम्याटमा खेलेका थिए। उनले सबै फरम्याटमा गरी ३ सय ६७ खेल खेल्दा १३ हजारभन्दा बढी रन बनाएका छन्। २००९ मा डेब्यु गरेका उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने न्युजिल्यान्डका एकमात्र ब्याटरसमेत हुन्।

२०२२ मा अन्तिमपटक खेलेका गप्टिलले एकदिवसीयमा १ सय ९८ खेल खेल्दै ७ हजार ३४६ रन बनाएका छन्। कुल १८ शतक प्रहार गरेका उनले २०१५ मा सम्पन्न ५० ओभरको विश्वकप क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका थिए।
उक्त खेलमा उनी २ सय ३७ रनमा नटआउटसमेत रहेका थिए। तर, फाइनलमा पुगे पनि अस्ट्रेलियासँग पराजित हुँदा न्युजिल्यान्डले पहिलो विश्वकप उपाधि जित्न सफल भएन ।

यसै गरी गप्टिलले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि २ शतक प्रहार गरेका छन्। यस फरम्याटमा ३ हजार ५३१ रन बनाएका उनको व्यक्तिगत उच्चतम रन १ सय ५ थियो। गप्टिलले टेस्टमा ४७ खेलबाट २ हजार ५८६ रन बनाएका छन्। टेस्टमा उनले जम्मा ३ शतक प्रहार गरेका छन् । यस फरम्याटमा उनको उच्चतम रन १ सय ८९ थियो।

फ्रेन्चाइजी टी २० लिगमा पनि उनले खेलेका थिए । जसमा, सबैभन्दा बढी इन्डियन प्रिमियर लिगमा खेले। इन्डियन प्रिमियर लिगमा उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्स गरी तीन टोलीबाट खेलेका थिए।