बेलका नपामा लगाइएको ताला खुल्यो

752
Shares

उदयपुर ।


उदयपुरको बेलका नगरपालिकामा गत पुस १८ गते लगाइएको ताल खोलिएको छ ।

बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको गत पुस ७ गते प्रकाशित परीक्षाको अन्तिम नतिजा अनुसार करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै नेकपा एमाले बेलकाले कर्मचारीको लापरबाहीका कारण नक्कली व्यक्तिलाई हाजिर गराएको भनि उक्त बिषयमा छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न भन्दै लगाएको ताला आइतबार भएको वार्ताको निष्कर्ष अनुसार खोलिएको हो ।

आइतबार भएको नगरपालिका र आन्दोलनरत पक्षको वार्ताले पाँच बुँदे सहमति गर्दै ताला खोल्ने सहमति जनाएको हो । नगरपालिका र असन्तुष्ट पक्षको वार्ताले रोजगार सहायक (सेवा करार) पदपुर्तीको बिषयमा भएको कर्मचारीको गम्भीर लापरबाहीलाई छानविन समितिले प्रतिबेदन सार्वजनिक नगरुञ्जेल सम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने निर्णय समेत गरेको छ । यसले तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृतलाई काम काज गर्न रोक लगाएको स्पष्ट पारेको छ ।

दुई पक्ष बीच भएको सहमतिमा भनिएको छ; घटनाका बिषयमा छानविन गर्न उपप्रमुखको संयोजकत्वमा गठन गरिएको छानविन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकाहरु माथी कारवाहीको प्रक्रिया अघि बढाउने । प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतका बिषयमा घटनाका बारेमा छानविनमा समितिको प्रतिवेदन नआउञ्जेल सम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने ।

छानविनको प्रतिवेदन आइसकेपछि छानविन समिति र दुवै तर्फका वार्ता टोलीको बैठक बसी समस्या समाधानका बिषयमा पुनः छलफल गरि निर्णय गर्ने । छानविन प्रक्रियालाई थप प्रभावकारी बनाउन छानविन समितिमा विज्ञ सदस्यको रुपमा आन्दोलनरत पक्षका तर्फबाट शिव कुमार राई र तेजमान वि. क. लाई जिम्मेवारी दिने र अन्य विविध बिषयहरुमा छलफल लाई निरन्तरता दिदै कार्यालयको ढोकामा लगाइएको ताला खोली कार्यालयको दैनिक सेवा प्रवाहलाई सहज गर्ने सहमति गरिएकोे छ ।

नगरपालिकाका कर्मचारीको गम्भीर लापरवाहीका कारण नगरपालिकामा आन्दोलनरत पक्षले ताला बन्दी गरेका थिए भने शुक्रबार कर्मचारी स्वयमले कार्यालय बन्द गरेर बसेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले भने गैरजिम्मेवार अभिव्यक्ति दिंदै आफुलाई नगरपालिकाको कुनै पनि घटनाको जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेको गैरजिम्मेवार अभिव्यक्तिले पनि रोजगार सहायक (सेवा करार) पदको नियुक्तिमा शङ्कास्पद गतिविधि भएको होकी भन्ने आशंका व्यक्त हुन थालेको थियो ।

यसै बिच बेलका नगरपालिकाले शुक्रवार नगरपालिकामा नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, नौ वटै वडाका वडा अध्यक्ष सहितको बैठकबाट उपप्रमुख जिरा राईको संयोजकत्वमा तीन सदस्य छानबिन टोली समेत गठन गरेको थियो । टोलीमा वडा नम्बर ३ का अध्यक्ष टंक आचार्य र वडा नम्बर ९ का अध्यक्ष भरत घिमिरे रहेका छन् ।