एपिएफ काठमाडौँले  जित्यो ३२ औँ त्रिवेणी कपको उपाधि

16.92k
Shares

लमजुङ। 

३२ औँ त्रिवेणी कपको उपाधि एपिएफ काठमाडौँले  जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरको सहजी स्थित त्रिवेणी रंगशालामा शनिबार भएको फाइनल खेलमा विवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ को गोल अन्तरले हराउँदै एपिएफ काठमाडौंले ३२ आंै त्रिवेणी कपको उपाधि जितेको हो ।

निर्धारित खेल समयमा दुई-दुई गोलको बराबरी भएपछि समय थप गरिएको थियो । अतिरिक्त समयमा कुनै पनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा तिनका विरुद्ध चार गोल गरि  एपिएफ काठमाडांैले त्रिवेणी कपको उपाधि जितेको हो । 

 उपाधि विजेता एपिएफ काठमाडांैले १२ लाख पुरस्कार राशीसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बिवाईसी भोटेओडारले ६ लाख रुपैयासहित, रजतपदक र प्रमाणपत्र हात पारेको छ ।

फाइनल खेलमा एपिएफका ऐन्जल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा खेल अवधिभर ६ गोल गरी एपिएफका प्रदिप लामाले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेको छ भने जनही नगद २५ हजार पुरस्कार सहित पदक र प्रमाणपत्र प्राप्त गरेको छ । 

त्यसैगरी बिवाईसीका ईमिनियलले उत्कृष्ट खेलाडीको उपाधि हात पारेको छ । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताको सेमीफाइनलमा पुग्ने दुई टिम त्रिवेणी युवा क्लब र टोखा भगवती फुटबल क्लव काठमाडौंलाई नगद दुई-दुई लाख र प्रमाण पत्र प्रदान गरीएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी युवा क्लबबाट आयोजना हुँदै आएको राष्ट्रिय स्तरको त्रिवेणी कपले लमजुङलाई मात्र नभई सिंगो गणडकी प्रदेशलाई नै चिनाउनमा टेवा पुग्ने बताए । मन्त्री पाण्डेले खेलको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटकीय राजधानी बनाउनु पर्नेमा जोड दिए । 

गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता एवं आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण भएको थियो ।

कार्यक्रममा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानिय तहका प्रमुख, उपप्रमुख, जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न संघसस्थाका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

त्रिवेणी युवा क्लवको आयोजनामा यहि पुस १२ गतेबाट बेसीशहरको सहजी स्थित त्रिवेणी रंगशालामा राष्ट्रव्यापी ३२ औ त्रिवेणी कप २०८१ मा ए डिभिजन अन्तर्गतका पाँचवटा टिम सहित १६ टिम सहभागिता थियो । प्रतियोगिताको फाइनलमा जिल्ला भित्र र वाहिरका गरी हजारौँ खेलप्रेमी दर्शकको उपस्थिती थियो ।