उदयपुरको बेलका नगरपालिकामा सेवा ठप्प, सेवाग्राही मार्कामा 

15.89k
Shares

उदयपुर

उदयपुरको बेलका नगरपालिकामा सेवा प्रभावित हुँदा सेवाग्राही मार्कामा परेका छन् । हिजो पुस १८ गते नेकपा एमाले बेलका नगर कमिटीले नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीको कार्यकक्षमा ताला लगाए पछि आज शुक्रवार नगरपालिकाका सबै शाखाका कर्मचारीले कार्यकक्ष नै नखोलेपछि  सेवा प्रभावित हुँदा सेवाग्राही मार्कामा परेका हुन ।

बिहान कर्मचारीहरु कार्यालय समयमै कार्यालय पुगेको भएपनि माथिको निर्देशन भन्दै कार्यालय नखोली बस्दा नगरपालिकाको सबै सेवा प्रभावित भएको हो । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे हाल बिदामा काठमाडौँ रहेका छन् । उनलाई, कर्मचारीहरुले  माथिको निर्देशन अनुसार कार्यालय नखोलेको भन्दै सबै सेवा किन बन्द गरेको भनी प्रश्न गर्दा घिमिरेले गैरजिम्मेवार तरिकाले आफूलाई केही जानकारी नभएको बताए । बिहीबार नगरपालिकामा एमाले बेलका नगर कमिटीले ताला लगाए पछि नगरपालिका अस्तव्यस्त रहेका बेला प्रमुख प्रशासकीय अधिकृत भने आफू मोबाइल अफ गरेर बसेको र आफूलाई नगरपालिकाको कुनै पनि गतिबिधिका बारे जानकारीनै नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिंदै पन्छिन खोजेका छन् ।

बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको गत पुस ७ गते प्रकाशित परीक्षाको अन्तिम नतिजा अनुसार करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै एमाले बेलकाले प्रमुख प्रशासकीय अधिकृत र सूचना अधिकारीकाको कार्यकक्षमा ताला लगाएको थियो ।

रोजगार सहायक (सेवा करार) पदका लागि आव्हान गरिएको बिज्ञापनमा फारम नभरेका, लिखित र प्रयोगात्मक परीक्षामा समेत सामेल नभएका व्यक्ति नियुक्ति माग्दै कार्यालयमा आउँदा मेयर अशोक कार्कीले आफ्नो कार्यकक्षमा बधाई दिंदै राम्रो संग काम गर्नु भनेको र प्रशासन शाखाले उनीसँग निवेदन माग गरी  निवेदनमा कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय रेग्मीले तोकादेश गरी नियमानुसार गर्नु भनेको पाइएको छ । 

रोजगार सहायक (सेवा करार) पदका लागि आव्हान गरिएको बिज्ञापनमा सहभागी नै नभएका दिव्यराज अधिकारीले निवेदनमा आफ्नो बुवाको नाम, उमेर, वडा, टोल सबै उल्लेख गरी “रोजगार सहायकमा नियुक्ति पाउँ“ भनी निवेदन दिँदा पनि कर्मचारीले सक्कली र नकाल्ली दिव्यराज अधिकारी नछुट्याई लापरवाही ढंगले हाजिर गराएर नगरको प्रशासनिक क्षेत्रको बेथिति उजागर गरेको हो । यसरी केही दिन देखी नगरपालिकामा रोजगार सहायक (सेवा करार) पदको नियुक्ति बिबादलाई लिएर नगरपालिका तनावपूर्ण हुँदै शुक्रवार सेवाग्राहीले सेवा नै नपाउने अवस्थामा पुग्दा समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे भने आफू मोबाइल अफ गरेर बसेको, आफूलाई केही जानकारी नभएको भन्दै संचारकर्मी संगै गैरजिम्मेवार तरिकाले प्रस्तुत हुनुमा यो घटना कतै मिलेमहतोमा भएको त हैन भन्ने गम्भीर प्रश्न सिर्जना भएको छ ।

नगरपालिकाका कर्मचारीको गम्भीर लापरवाहीका कारण नगरपालिकामा ताला बन्दी हुनु, ताला बन्दी हुँदै गर्दा कर्मचारी स्वयम् कार्यालय बन्द गरेर बसिरहँदा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने गैरजिम्मेवार अभिव्यक्ति दिनुले पनि रोजगार सहायक (सेवा करार) पदको नियुक्तिमा शङ्कास्पद गतिविधि भएको होकी भन्ने आसंका व्यक्त गर्न सकिने देखिएको छ ।

उता शुक्रवार नगरपालिकामा नगर प्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, नौ वटै वडाका वडा अध्यक्ष सहितको बैठकले सरोकारवाला निकाय संग छलफल गर्न नगर प्रमुखको संयोजगत्वमा पाँच सदस्य बार्ता टोली गठन गरेको छ । टोलीमा वडा नम्बर ६ का अध्यक्ष वसन्त मगर,वडा नम्बर १ का अध्यक्ष दिनेश्वर चौधरी, वडा नम्बर ४ का अध्यक्ष तिर्थराज अधिकारी वडा नम्बर ८ का अध्यक्ष जय कुमार राई रहेका छन् । त्यस्तै बैठकले उपप्रमुख जिरा राईको संयोजगत्वमा तीन सदस्य छानबिन टोली गठन गरेको छ । टोलीमा वडा नम्बर ३ का अध्यक्ष टंक आचार्य र वडा नम्बर ९ का अध्यक्ष भरत घिमिरे रहेका छन् ।

यसैबीच नेकपा एमाले बेलका नगर कमिटीले गरेको ताला बन्दीको कार्यलाई ऐक्यवद्धता जनाउदै नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले समेत घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कडा कारबाहीको माग गरेका छन् ।