ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप फागुन दोस्रो साता


काठमाडौँ।

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप आगामी फागुनको दोस्रो साता हुने भएको छ ।

ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप आगामी फागुनको दोस्रो साता काठमाडौँमा हुने भएको हो।

संघले शुक्रबार राजधानीको एलफ्ट होटलमा पत्रकार सम्मेलन गर्दै अहिलेसम्मकै धेरै पुरस्कार राशी रहेको ई-स्पोर्ट्स च्याम्पियनसीप आगामी फागुन ८ देखि १० गतेसम्म काठमाडौंमा आयोजना हुने जानकारी गराएको हो ।

च्याम्पियनसीपमा विभिन्न ६ विधा समावेश गरिएको छ । जसमा ई-फुटबल, मोबाइल लिजेण्ड्स, पब्जी मोबाइल, डोटा टू, भ्यालोरेन्ट र कस प्ले गरी ई-स्पोर्टको ६ विधा समावेश गरिएको इशानका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

प्रतियोगिताको छनोट चरणका खेलहरु अनलाईनबाट हुनेछ भने अन्तिम चरणको खेल मात्र भौतिक रुपमा काठमाडौंको दशरथ रंगशालमा हुने इशानले जनाएको छ । अन्तिम चरणमा ई फुटबलमा ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै पब्जीमा १६ टिम, मोबाइल लेजेण्ड्समा २, डोटा टू र भ्यालोरेन्टमा पनि ४-४ खेलाडी अन्तिम चरणमा सहभागी हुनेछन् ।

इशानले प्रतियोगिताको म्यानेजमेन्ट र मार्केटिङका लागि सप्लाई अनलिमेटेडकासँगै तीन वर्षको सम्झौता गरेको छ । सम्झौताअनुसार सप्लाई अनलिमेटेड अन्तर्गत रहेको नेपाल प्लेजले प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन र बजारीकरण गर्नेछ ।

इशानका अध्यक्ष अन्जन धमलाले ई-स्पोर्ट्सका विकासमा नेपाल प्लेजसँगको सहकार्यले फाइदा पुग्ने बताए । धमलाले नेपाल प्लेजसँग लामो समयसम्म सहकार्य गर्दै ई-स्पोर्ट्स विकासमा अघि बढ्ने बताए ।

धमलाले ई-स्पोर्ट्स खेल्दा अहिले पनि समाजमा नकरात्मक सोच रहेको भन्दै अब समाजमा फरक किसिमको सोच बनाउनका लागि ई-स्पोर्ट्स च्याम्पियनबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल प्लेजमा एमडी उज्जेनलाल श्रेष्ठले नेपाली ई-स्पोर्ट इतिहासमै यो कोशेढुंगा सावित हुने बताए । ‘हामी ई-स्पोर्ट्स समुदायलाई जसरी पनि अगाडि बढाउने भनेर लागिपरेका छौं । यो नेपाली ई-स्पोर्ट्मै एउटा माइलस्टोन इभेन्ट बनाउने प्रयासमा छौं’ श्रेष्ठले भने ।

उनले च्याम्पियनसीपमा साथ दिने इशानदेखि ब्राण्ड एम्बासडर निश्चल बस्नेत लगायत सबैलाई धन्यवाद दिए । साथै उनले नेपालमा गेमिङ संस्कृति विकास गर्ने र भविष्यमा गेमिङ पनि करियरको विकल्पको रुपमा लैजाने योजना रहेको बताए ।

नेपालको ई-स्पोर्ट्स क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशी रहेको इ-स्पोर्ट्स संघले जनाएको छ । च्याम्पियनसीपको कूल पुरस्कार राशी (प्राइज पुल) २५ लाख रहेको छ । जसबाट ६ विधाका विजेता तथा उपविजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिनेछ ।

इशानका महासचिव पवन कार्कीले यो नेपाली ई-स्पोर्टकै सर्वाधिक पुरस्कार राशी रहेको बताए । ‘२५ लाख पुरस्कारसहित नेपालकै ठूलो ई-स्पोर्ट्स च्याम्पियनसीप हुँदैछ । यसबाट नेपाली ई स्पोर्ट्सको विकास र ईस्पोर्ट्स संघको पनि विकास गर्ने उदेश्य हो ।’

महासचिव कार्कीले ई स्पोर्ट्समा रुची राख्ने खेलाडीहरुका लागि संघले कार्यक्रम बनाईरहेको र यस प्रतियोगिताबाट आम जनतामाफ यस खेलको बारेमा अझ राम्रोसँग जानकारी गराउने उद्देश्य रहेको बताए ।

च्याम्पियनसीपमा सहभागी हुन चाहने खेलाडीहरुले पुस २० गते अर्थात भोलीदेखि खल्ती एपबाट नाम दर्ता गराउने सक्नेछन् । नाम दर्ता नि:शूल्क रहेको छ ।

च्याम्पियनसीपका लागि कूल बजेट ३ करोड ७० लाख रहेको छ। उक्त बजेट विभिन्न प्रायोजकहरुबाट उठाउने बताइएको छ।

यस्तै दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसीपका लागि इशानले चलचित्रकर्मी तथा ई-गेमिङका प्रवर्द्धक समेत रहेका निश्चल बस्नेतलाई नियुक्त गरेको छ ।

इशानले संघ स्थापना भएको तेस्रो महिनमै गत पुसमा सुर्खेतमा ई-स्पोर्ट्सको पहिलो राष्ट्रिय च्याम्पियनसीप आयोजना गरेको थियो ।