सभापति कप विजेतालाई २६ लाख


काठमाडौं ।

नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति– २०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता माघ १० गतेदेखि हुने भएको छ। प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ८ र आमन्त्रित २ विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले जनाए।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन्। माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ।

सोही अवसरमा समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहोराले जानकारी दिए। उत्कृष्ट पुरुष/महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ। नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ।