काठमाडौं ।
टोखा नगरपालिकाको आयोजनामा दोस्रो वागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रवारदेखि हुने भएको छ। लिगमा पुरुष/महिलामा समान ५–५ गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए।
पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौलसमूहमा खेल हुनेछ। महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजीमा भिडन्त हुनेछ। टोखामा हुने प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले जानकारी दिए।
काठमाडौं जिल्ला समन्वय समिति र वागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १० अंक, ७ अंक र ३ अंक प्रदान गरिने छ। प्रत्येक तौलसमूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा खान/बसोवास/यातायातको सुविधा प्रदान गरिने काठमाडौं जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए।
प्रतिक्रिया