‘वर्षात्मा पनि मेलम्चीको पानी बन्द हुन्न’

376
Shares

काठमाडौं ।

खानेपानीमन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षात्को समयमा पनि मेलम्चीको पानी बन्द नहुने गरी काम भइरहेको बताउनुभएको छ।

बिहीबार मन्त्रालयमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा मन्त्री यादवले प्रत्येक वर्ष वर्षात्को समयमा मेलम्चीको पानी बन्द गरिँदै आएको भए पनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौं उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताउनुभयो।

‘विगतका वर्षमा वर्षा शुरू हुनेबित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गथ्र्यो, अब हामीले वर्षात्को समयभरि नै मेलम्चीको पानी चालू गर्ने गरी काम शुरू गरेका छौं’, उहाँले भन्नुभयो– ‘आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ।’

कुराकानीका क्रममा मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका विकटविकट गाउँबस्तीमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँसराइ गर्नुपर्ने अवस्थामा छन् । ती क्षेत्रका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु।’

काठमाडौं उपत्यकासहित देशभरिका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरू अघि सारेको बताउँदै मन्त्री यादवले भन्नुभयो– ‘नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरू अघि सारेको छ । मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौं ल्याउने विषयमा पनि अध्ययन शुरू भएको छ। सबैको पहुँचमा शुद्ध पानी पुर्‍याउँछु।’

सोही क्रममा मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणवश बन्द भएमा अथवा बन्द गर्नुपर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हालसम्म मेलम्चीको विकल्प मेलम्ची नै हो तर केही कारणवश मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई वितरण गर्ने गरी काम गर्दै छौं।’

देशका अधिकांश ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिकमाझ स्वच्छ, सफा खानेपानी पु¥याउन योजनाबद्ध ढंगले काम गरिरहेको उहाँको भनाइ थियो । जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदाहुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नुपर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफंैमा दुःखद् तथा लाजमर्दो कुरो भएको उहाँले बताउनुभयो।

जलवायु परिवर्तनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नुपरेको र समस्या समाधन गर्न निकै चुनौतीपूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो ।