सनर र सबालेन्का चम्केको वर्ष २०२४

जोकोभिचले गोल्डेनस्लाम पुरा गरेको

376
Shares

काठमाडौं ।

वर्ष २०२४ ले विदा लिइसकेको छ । अब, २०२५ का खेल गतिविधि शुरु भइसकेको छ । नयाँ वर्षमा अन्तर्राष्ट्रिय खेल जगतमा नयाँ खेलाडीको जन्म हुन सक्छ । पुरानै खेलाडीले प्रदर्शन निरन्तर दिएर जमिरहन पनि सक्छ । तर, अहिले चाहि बितेको वर्ष २०२४ का खेल गतिविधिमध्ये टेनिसबारे यहाँ प्रस्तुत गरिएको छ ।

शुरुवात विश्व टेनिसमा प्रतिष्ठित ग्रान्डस्लाम टेनिस प्रतियोगिताबारे नै चर्चा गरिएको छ । ग्रान्डस्लाम प्रतियोगिता हरेक टेनिस खेलाडीको सपना हो । यसमा खेल्न मात्रै पाएपनि खेलाडीले आफुलाई भाग्यमानी सम्झिन्छन् । तर, उपाधि नै जितेमा त ती खेलाडी विश्वमा प्रसिद्ध हुन्छन् । यसैले यहाँ ग्रान्डस्लामबाटै शुरु गरिएको हो ।

प्रत्येक वर्षमा चार ग्रान्डस्लाम प्रतियोगिता आयोजना हुने गर्छ । गत २०२४ मा पनि हरेक वर्ष झैं चार ग्रान्डस्लाम प्रतियोगिता आयोजना भयो । जसमा, मेलबर्नमा हुने अस्ट्रेलियन ओपन टेनिस, पेरिसमा हुने फ्रेन्च ओपन टेनिस, लन्डनमा हुने विम्बल्डन टेनिस र न्युयोर्कमा हुने यूएस ओपन टेनिस प्रतियोगिता रहेका छन् । यसमध्य फ्रेन्च ओपन माटोको कोर्टमा हुन्छ भने विम्बल्डनमा घाँसे कोर्टमा हुने गर्छ । यी दुई कोर्टमा उपाधि जित्नु निकै कठिन रहेको पनि खेलाडीहरूले बताएका छन् ।

गत वर्ष जनवरीमा भएको अस्ट्रेलियन ओपनमा मेन्स सिंगल्सतर्फ यानिक सिनरले उपाधि जितेका थिए । इटालियन सिनरको यो करिअरकै पहिलो ग्रान्डस्लाम उपाधि समेत थियो । उनले फाइनलमा दुई सेटको पछि परेर पनि रुसी खेलाडी डेनिल मेदभेदेभलाई पराजित गरेका थिए ।

यस्तै, वोमेन्स सिंगल्सतर्फ एरिना सबालेन्काले उपाधि जितिन् । बेलारुसकी सबालेन्काले फाइनलमा चीनकी झेंग किनवेनलाई पराजित गरेकी थिइन् । सबालेन्काले लगातार उपाधि जित्दा किनवेनको यो पहिलो ग्रान्डस्लाम फाइनल थियो ।

यसैगरी मे २६ देखि जुन ९ सम्म संचालन भएको फ्रेन्च ओपनमा मेन्स सिंगल्सतर्फ स्पेनका कार्लोस अलकाराज र वोमेन्स सिंगल्सतर्फ पोल्यान्डकी इगा स्वियाटेकले उपाधि जिते । अलकाराजले जर्मनीका एलेक्सान्डर जेभेरेभलाई हराएर पहिलो पटक फ्रेन्च ओपन उपाधि जितेका थिए । यो खेल पाँच सेटसम्म चलेको थियो । वोमेन्स सिंगल्स फाइनलमा स्वियाटेकले इटालीकी जास्मिन पाओलीनीलाई सहजै पराजित गरेर उपाधि हासिल गरिन् । यो स्वियाटेकको चौथो फ्रेन्च ओपन उपाधि समेत थियो ।

हरेक वर्ष हुने चार ग्रान्डस्लाममध्ये तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डनमा स्पेनका अलकाराजकै राज भयो । जुलाईमा भएको विम्बल्डनअन्तर्गत अलकाराजले मेन्स सिंगल्स फाइनलमा सर्बियाका नोभाक जोकोभिचलाई पराजित गरेर विम्बल्डनमा राज गरेका हुन् ।

अलकाराजले जोकोभिचलाई लगातार दोस्रो वर्षमा विम्बल्डनमा पराजित गरेका थिए । योसँगैं स्पेनी खेलाडीले जोकोभिचको कीर्तिमानी २५ औं ग्रान्डस्लाम उपाधि जित्ने योजना भताभुंग समेत पारिदिए । वोमेन्स सिंगल्सतर्फ चेक खेलाडी बार्बोरा क्रेकिकोभाले इटालीकी जास्मिन पाओलीनीलाई पराजित गरेर उपाधि जितेकी थिइन् । पाओलीनी एकै वर्षमा लगातार दुई ग्रान्डस्लाम फाइनलमा पराजित भइन् । यसअघि फ्रेन्च ओपनमा उनी पोल्यान्डकी स्वियाटेकसँग हारेकी थिइन् ।

वर्षको चार ग्रान्डस्लाममध्ये चौथो तथा अन्तिम ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनमा इटालीका यानिक सिनरले उपाधि जिते । सेप्टेम्बरमा भएको प्रतियोगिताको मेन्स सिंगल्स फाइनलमा सिनरले अमेरिकाका टेलर फ्रिजलाई हराएका थिए । उनले अमेरिकाको आसामा तुषारापात गरेका थिए । यस्तै, वोमेन्स सिंगल्स फाइनलमा बेलारुसकी एरिना सबालेन्काले जितिन् । सबालेन्काले अमेरिकी खेलाडी जेसिका पेगुलालाई हराएर अमेरिकाको उपाधि जित्ने सपना चकनाचुर पारेकी थिइन् ।

जोकोभिच असफल तर, पेरिसमा सफल
दिग्गज खेलाडी नोभाक जोकोभिच गत वर्ष २०२४ मा ग्रान्डस्लाम उपाधि जित्न असफल भएका थिए । उनलाई एउटै उपाधिले मात्रै लज्जित हुनबाट बचायो । त्यो हो पेरिस ओलम्पिक । उनको सपना सर्वाधिक २५ ग्रान्डस्लाम उपाधि जित्ने हो । तर, २०२४ मा उनको सपना पुरा हुन सकेन । पेरिस ओलम्पिकमा उनको सामना टेनिसका उदीयमान खेलाडी कार्लोस अलकाराजसँग भएको थियो ।

३७ वर्षीय पाका खेलाडी जोकोभिचले युवा अलकाराजलाई ७–६, ७–६ ले हराउन सफल भए । योसँगैं उनले गोल्डेनस्लाम पुरा गरे । गोल्डेनस्लाम पुरा गर्न ओलम्पिकमा गोल्ड मेदल जित्नुका साथै चारै वटा ग्रान्डस्लाम उपाधि जित्नु पर्ने प्रावधान रहेको छ । जोकोभिचसँग त चारै वटा ग्रान्डस्लामको उपाधि छ र २०२४ मा उनले ओलम्पिकमा गोल्ड मेदल जितेर करियर गोल्डेन स्लाम पुरा गरे । योसँगैं टेनिस जगतमा गोल्डेन स्लाम पुरा गर्नेमा उनी चौथो खेलाडी हुन् । यसअघि स्टेफी ग्राफ (जर्मनी), आन्द्रे आगासी (अमेरिका) र सेरेना विलियम्स (अमेरिका) ले गोल्डेन स्लाम पुरा गरेका हुन् ।

ग्रान्डस्लाम जितेकाहरुको २०२४ मा अन्य उपाधि
—यानिक सिनरले फेब्रुवरीमा रोटरदममा भएको एबीएन एमरो ओपनमा दोस्रो पटक लगातार उपाधि जितेको ।
—इगा स्वियाटेकले दोहामा भएको कतार ओपनमा लगातार तेस्रो पटक उपाधि जितेकी ।
—कार्लोस अलकाराजले मार्चमा इन्डियन वेल्समा भएको बीएनपी पारिबास ओपनमा उपाधि जितेको ।
—स्वियाटेकले बीएनपी पारिबास ओपनमा उपाधि जितेकी ।
—सिनरले फ्लोरिडामा भएको मायामी ओपन जितेको ।
—स्वियाटेकले अप्रिल–मे मा भएको मेड्रिड ओपनमा उपाधि जितेकी ।
—स्वियाटेकले मे मा रोममा भएको इटालियन ओपनमा उपाधि जितेकी ।
—सिनरले जुनमा हलेमा भएको एटीपी ५०० ट्रफी जितेको ।
—सिनरले अगस्टमा भएको सिनसिनाटी ओपनमा उपाधि जितेको ।
—एरिना सबालेन्काले सिनसिनाटी ओपनमा उपाधि जितेकी ।
—अलकाराजले अक्टोबरमा बेइजिङमा भएको चाइना ओपनमा उपाधि जितेको । यसै जितमार्फत अलकाराजले सिनरको लगातार जितको क्रम तोडेको ।
—सिनरले सांघाइ मास्टर्स फाइनलमा नोभाक जोकोभिचलाई हराएर उपाधि जितेको ।
—सबालेन्काले वुहान ओपनमा तेस्रो पटक उपाधि जितेकी ।
—सिनरले नोभेम्बरमा एटीपी फाइनल्स जितेको । उनी एटीपी फाइनल्स जित्ने पहिलो
इटाली खेलाडी बनेको ।