काठमाडौं ।
एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। त्यस अवसरमा उनले विमानस्थलस्थित अधिकारीहरुसँग संक्षिप्त बैठक गर्दै जोखिम फैलन नदिन प्रभावकारी सेवाका लागि आग्रह गरेका छन्।
अहिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एमपक्स फैलन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिन थालेको छ।
मन्त्री पौडेलले विमानस्थलमा एयरलायन्स, नागरिक उड्डयन अधिकारी, अध्यागमनका कर्मचारी तथा सुरक्षाकर्मीहरूसहित अधिकारीहरूलाई एमपक्सको सम्भावित जोखिमको चर्चा गर्दै नियन्त्रणका सबैको साथ आवश्यक रहेको बताए। उनले अधिकारीहरुसँग भने ‘तपाईंहरुलाई कुनै पनि काम कुरामा आवश्यक सहयोग उपलब्ध गराउन हामी तयार छौँ,’ उनले भने, ‘केही समस्या परे भन्नुहोला।’
हाल साउदी अरेबियाबाट आएका दुई नागरिकमा सङ्क्रमण देखिएकामा एक उपचारपछि घर फर्किसकेका छन्। अर्का एकको सुरक्षित अवस्थामा सरुवा रोग नियन्त्रण अस्पतालमा उपचार भइरहेको छ।
मन्त्री पौडेलले नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला, उपचारका लागि सरुवा रोग नियन्त्रण अस्पताल अनि सचेतना फैलाउन इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाले मिलेर काम गरिरहेको जानकारी दिए।
विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि राजेश सम्भाजीराव पाण्डवले एम्पक्स नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सहकार्य रहने बताए।
प्रतिक्रिया