सहकारी ठगी प्रकरण : रविसहित ७ जनाको बयान सकियो, थुनछेक बहस सुरु


काठमाडौँ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ७ जना बयान सकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा मंगलबार जिल्ला अदालत कास्कीमा उनीहरुको बयान सकिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।

उनीहरुसँगको बयान सकिएसँगै मंगलबार दिउँसो २ बजेबाट थुनछेक बहस सुरु भएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । शुरुमा अभियोजन पक्ष सरकारी वकिलले बहस गर्नेछन्। त्यसपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ। पुनः अभियोजन पक्षले जवाफी बहस गरेपछि थुनछेक आदेश आउने छ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।