दशौं नारदमुनी गोल्डकप माघमा

846
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिकामा हुँदै आएको नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिता माघ १५ गतेदेखिद सञ्चालन हुने भएको छ।

बसाहा क्लवले असोजमा आएको बाढी पहिरोका कारण पूर्वनिर्धारित समय (असोज १७ गते) मा गोल्डकप गर्न असमर्थ भएको थियो। स्वर्गीय नारदमुनि थुलुङ राइको माघ २२ गते पर्ने स्वर्गारोहणको मितिलाई लक्षित गरि माघ १५ गते देखी दशौं संस्करणको नारदमुनी गोल्डकप सुरु गर्ने निर्णय गरेको क्लवका अध्यक्ष गौतम राईले जानकारी दिएका हुन्।

२००७ सालका क्रान्ति योद्धा तथा पूर्व मन्त्री स्वर्गीय नारदमुनि थुलुङ राईको स्मृतिमा स्थानीय क्लबले प्रतियोगिता आयोजना गर्दै आएको छ। अध्यक्ष राईका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन्।

प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौँ, सलेहस क्लब सिराहा र सङ्कटा एफ.सी. काठमाडौंले नै फेरी पनि सहभागीता जनाउने बताइएको छ ।

माघ २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख नगद पाउनेछ । त्यस्तै उपविजेताले २ लाख २५ हजार प्राप्त गर्नेछ । प्रतियोगितामा हरेक दिन ५ हजार नगदसहित म्यान अफ दि म्याच पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनलमा विभिन्न सात विधाका खेलाडीहरूलाई नगद ५ हजार दिई सम्मान गरिने आयोजकले जनाएको छ ।