नयाँ वर्ष अघिसम्म सालाह अगाडी


एजेन्सी ।

आइतबार राति वेस्ट ह्यामसँगको खेलमा जितसँगैं मोहम्मद सालाह नयाँ वर्ष २०२५ आउन अघिसम्म प्रिमियर लिगमा दोहोरो अंकमा गोल र असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्। यस सिजनको आधा भागमा पुग्दा सालाहको गोल र असिस्ट दुवै दोहोरो अंकमा पुगिसकेको छ।

सालाहले प्रिमियर लिगमा यो सिजन १८ खेल खेल्दा १७ गोल गरेका छन् भने १३ गोलमा असिस्ट पनि गरेका छन् । गोल र असिस्ट दुवै १० अंक भन्दा बढी भइसकेको छ। इजिप्टका स्टार फुटबलर सालाह प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता र सर्वाधिक असिस्टकर्ता दुवै हुन् ।

यो सिजनमा सालाहले समग्रमा सबै प्रतिस्पर्धामा गरी कूल २६ खेलबाट २० गोल गरेका छन् । च्याम्पियन्स लिगमा उनले ६ खेलबाट २ गोल र ४ गोलमा असिस्ट गरेका छन् । ईएफएलमा २ खेलबाट १ गोल गरेका छन् ।

इंग्लिस क्लब लिभरपुलका फरवार्ड सालाह यसपालि उत्कृष्ट लयमा रहेका छन् । सिजनको सुरुआतबाटै उनले टिममा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिमियर लिगमा लिभरपुलले टोटनह्यामलाई ६–३ गोलअन्तरले हराउँदा सालाहले ‘म्यान अफ् द म्याच’ अवार्ड समेत जितेका थिए । उनले उक्त खेलमा ४ गोलका लागि योगदान गरेका थिए । सालाहले सो खेलमा २ गोल र २ असिस्ट गरेका थिए ।

उनको टिम लिभरपुल पनि प्रिमियर लिगमा अग्रता बनाइरहेको छ । लिभरपुलले १८ खेलबाट १४ जितसँगैं ४५ अंक बनाएको छ। लिभरपुलले दोस्रो स्थानको नटिंगम फोरेस्टमाथि ८ अंक र तेस्रो स्थानको आर्सेनलमाथि ९ अंकको अग्रता लिएको छ। पछिल्ला चार सिजनमा उपाधि जितेर वर्चश्व बनाएको म्यानचेस्टर सिटीलाई भने लिभरपुलले दोहोरो अंक (१४ अंक) ले पछि पारिसकेको छ।