भद्रपुर।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने ठोकुवा गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापाको गौरीगंजमा सोमबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गिरीबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेरै छाड्ने उनले पुनः दोहर्याएका हुन्।
यसअघि शनिवार कञ्चनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए गिरीबन्धु, यति ओम्नी, नक्कली भुटानी शरणार्थी, वाइडबडीमा भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका थिए।
उनले भ्रष्ट, दलाल, विचौलिएका विरुद्ध एकजुट हुन अपिल गर्दै आफू तेस्रोपटक प्रधानमन्त्री हुँदा थालेको सुशासन अभियान कांग्रेस र एमालेको हेडक्वाटरमा सोझिएपछि रातारात सरकार ढालेको दाबी गरे ।
जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको उनले आरोप लगाए । प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली, कपटी मान्छे कोही नभएको बताए । ओलीको काम नै जालझेल गर्ने मात्र रहेको उनको आरोप थियो । विकासका जति काम भएका छन् ती सवै माओवादी केन्द्रको नेतृत्वमा भएको दावी गरे । ओलीले भष्ट्रचारीलाई लुकाएर देशको लोकतन्त्र धरापमा पारेको उल्लेख गर्दै । साच्चैको लोकतन्त्र जनताले महशुस गर्न नपाएको उनको भनाइ थियो । संविधान संशोधन गरेर देशलाई निकास दिने काम माओवादीले मात्र गर्ने उनको धारणा थियो ।
झापाको गौरीगञ्जमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न आएका प्रचण्डले माओवादी केन्द्रका गौरीगञ्ज १ का वडा कमिटी अध्यक्ष तिलक राजवंशीको महाभारास्थित घरमा कोच संस्कृति अनुसार बिहानको खाना खाएका थिए । केराको पातमा उनले उसिना चामलको भात , लाफाको पेल्का (लाफा सागको दाल जुन चिप्लो हुन्छ ), आलु र फूलकोभीको भाजी र रहुँ माछा खाएका थिए ।
कोच संस्कृति अनुसार उनले पलेटी कसेर खाना खाएका थिए । उनीसँगै हरिबोल गजुरेल , इन्द्र आङबो , सावित्रीकुमार काफ्ले , जीवन आचार्य,धर्मशीला चापागाँईलगायतले खाना खाएका थिए । राजवंशीको घरमा करिब ७५ जनाले खाना खाएका थिए । जसको व्यवस्थापन पार्टीको जिल्ला कमिटीले गरेको थियो ।
खाना पकाउन र खुवाउन १० भन्दा बढी टहलुवा र कामकरी ( राजवंशी भाषामा भोजभतेरमा खटिने पुरुष र महिला स्वयंसेवक खटिएका थिए ।
प्रतिक्रिया