काठमाडौं ।
पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा जानुभएको छ । पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको हो।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्र परिवार भारत जानुभएको हो । पूर्वराजा ज्ञानेन्द्र परिवारको उच्चस्तरीय सुरक्षा व्यवस्था गरेको बताइएको छ। अर्थात् मुख्यमन्त्री योगी आदित्यले नै सबै सुरक्षा र अन्य व्यवस्था गर्नुभएको हो।
भारतमै अंग्रेजी नयाँ वर्ष मानेर पुस १९ गते नेपालगञ्ज फर्कने कार्यक्रम रहेको छ। उहाँको भ्रमणमा निजी सचिव डा. सागर तिमल्सिना, राजेश सिंह, निजी सुरक्षागार्ड (पीएसओ) सशस्त्र प्रहरीका डीएसपी मणि हमाल रहनुभएको छ।
‘भारतको लखनउ भ्रमणमा निस्कनुभएको हो, उच्चस्तरीय भेटघाट हुन्छ कि हँुदैन भन्ने विषयमा जानकारी छैन’ –उच्चस्रोतले नेपाल समाचारपत्रसँग भन्यो । स्रोतका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्रीलगायत भारतका उच्चस्तरीय नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मंसिर १७ गतेबाट कर्णाली र सुदूरपश्चिमको भ्रमणमा निस्कनुभएका ज्ञानेन्द्रले दुई प्रदेशका विभिन्न मठमन्दिर भ्र्रमण गरिसक्नुभएको छ ।
उहाँ भारतबाट फर्कनासाथ पुस २८ गतेबाट लुम्बिनी प्रदेशको भैरहवा पुग्ने कार्यक्रम छ । उहाँको भैरहवाको टाइगरटप्स होटलमा बस्ने कार्यक्रम रहेको छ । करिब दुई साता भैरहवा बसाइपछि काठमाडौं फर्कने कार्यक्रम छ । भैरहवा रहँदा उहाँ विभिन्न धार्मिक भ्रमण गर्ने कार्यक्रम रहेको छ । ‘के के कार्यक्रम छ भन्नेबारे जानकारी छैन, लुम्बिनी प्रदेशको मठमन्दिर दर्शन गर्ने कार्यक्रम रहेको जानकारी पाएका छौं’ –स्रोतको भनाइ छ ।
देश दौडाहा शुरू गर्नुभएका पूर्वराजा शाह मध्यपश्चिम, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको भ्रमणमा व्यस्त रहनुभएको छ । स्रोतका अनुसार नेपालगञ्ज दाङलगायत भ्रमण गर्नुभएका सबै जिल्लामा राजनीतिक भेटघाट गर्नुभएको थियो । भ्रमणको क्रममा उहाँले विभिन्न शक्तिपीठमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ ।
पछिल्लो समय मुलुकको राननीतिमा चासो राख्न थाल्नुभएका पूर्वराजा ज्ञानेन्द्रले धार्मिक भ्रमणको कारण देखाउँदै राजनीतिक भ्रमण शुरू गर्नुभएको छ । नेपाल भारतको सिमानामा पुगेपछि उहाँ भारत भ्रमणमा निस्कने गर्नुभएको छ । नेपालगञ्जको भ्रमण पनि यही योजनाअन्तर्गत भएको स्रोतले नेपाल समाचारपत्रसँग भन्यो । मुलुकको राजनीतिक अवस्थालाई नजिकबाट नियालिरहेको बताउने पूर्वराजा ज्ञानेन्द्रले देशको पछिल्लो राजनीतिक अवस्थाबारे राप्रपाका नेतासँग बुझ्ने गर्नुभएको छ ।
प्रतिक्रिया