काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन) ले आफ्नो २५औं वार्षिक साधारणसभामा कामना न्युज पब्लिकेसन्स् प्रालिका संस्थापक अध्यक्ष स्वर्गीय पुष्करलाल श्रेष्ठलाई सम्मान गरेको छ।
शुक्रवार काठमाडौंको ताहाचलस्थित होटल हायात प्यालेसमा आयोजित कार्यक्रममा संघले दशकौं अगाडि व्यावसायिक रूपमा पत्रपत्रिका प्रकाशन गरी नेपाली उद्योग व्यापार तथा आर्थिक क्षेत्रमा व्यावसायिक मिडियामार्फत विज्ञापन व्यवसायको विकास विस्तार गर्न पुर्याउनुभएको योगदानको कदर गर्दै अध्यक्ष श्रेष्ठलाई सम्मान गरेको हो।
आनले मिडिया तथा उद्योग क्षेत्र र विज्ञापन बजारमा सशक्त भूमिका खेल्नुहुने श्रेष्ठलगायत पाँच जनालाई फाइभ स्टारको संज्ञा दिँदै सम्मान गरेको जनाएको छ। अध्यक्ष श्रेष्ठलगायत वरिष्ठ सञ्चारकर्मीहरू यादव खरेल, भारती सिलवाल (गिरी), इमेज च्यानलका अध्यक्ष आरके मानन्धर तथा कृष्ण पाउरोटीका घनश्याम राजर्णिकारलाई नेपालको विज्ञापन उद्योग परिष्कृत भई आजको अवस्थामा आइपुग्न उहाँहरूले आ–आफ्नो क्षेत्रबाट गर्नुभएको योगदानको कदर गर्दै आन सम्मान प्रदान गरिएको त्यस क्रममा घोषणा गरिएको थियो ।
नेपाली आम सञ्चार क्षेत्रको पहिलो औद्योगिक संगठनका रूपमा रहेको नेपाल विज्ञापन संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई दुईओटा विशेष कार्यक्रमसहित आफ्नो २५औं वार्षिक साधारणसभा सम्पन्न भएको जनाएको छ ।
कार्यक्रमको पहिलो बन्द सत्रमा संघको वर्तमान कार्यसमितिका तर्फबाट महासचिव तथा कोषाध्यक्षबाट प्रस्तुत गरिएको छुट्टाछुट्टै वार्षिक, आर्थिक तथा आगामी आर्थिक वर्षको कार्यक्रम र अनुमानित आय–व्यय विवरणहरू बहुमतले पारित गरेको थियो। त्यसपछि विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेइङ रेलिभेन्ट रिसेपिङ नेपाल्स एड्भरटाइजिङ ल्यान्डस्केप शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम गरिएको थियो।
सो क्रममा सञ्चारकर्मी भूषण दाहालको समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुसाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आ–आफ्नो क्षेत्रको धारणा राख्नुभएको थियो ।
वरिष्ठ विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गर्नुभएको थियो । कार्यक्रममा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्ष रूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताहरूले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रूपमा लिनुपर्ने विषय राखिएको थियो । विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने हुँदा मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनलाई समेत पुनः विचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धता जनाएका थिए ।
त्यसै गरी वर्षेनी एड फेस्टको अवसरमा थाइल्यान्डमा आयोजना हुने योंग लोटस वर्कसप सन् २०२४ मा नेपालको प्रतिनिधित्व गरी अस्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १८ विज्ञापन बजारका प्रतिनिधिबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल भई विश्व विज्ञापन मानचित्रमा नेपालको नाम उल्लेख गराउन सफल भएका प्रशन्न श्रेष्ठ र साइष्मा घिमिरेलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
प्रतिक्रिया