धनगढी ।
सुदूरपश्चिमको भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालालाई धनगढीमा १५ किलोको माला लगाएर स्वागत गरिएको छ । नेता कोइरालालाई आगामी १५ औँ महाधिवेशनमा सभापतिका लागि अग्रिम शुभकामना स्वरुप १५ किलोको माला लगाइएको हो । नेता कोइरालालाई धनगढी विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई धनगढी विमानस्थलमा डडेल्धुराका नेता युवराज पाण्डे सहितका डडेल्धुरा कांग्रेसको तर्फबाट १५ किलोको माला लगाएको हो । १५ औँ महाधिवेशनका लागि शुभकामना दिँदै नेता कार्यकर्ताले नेता कोइरालाको पक्षमा नारा समेत लगाइएको थियो ।
स्वागतका लागि धनगढी विमानस्थलमा भेला भएका पार्टी कार्यकर्ताले भावी सभापति शेखर कोइराला जिन्दाबाद सुदूरपश्चिमले के भन्छ , १५ औँ महाधिवेशनमा शेखर कोइराला ल्या भन्छ, जस्ता कोइरालाको पक्षमा चर्को नारा लगाएका थिए । साथै, स्वागतका लागि थारु सांस्कृति झल्कने पहिरनसहित नृत्य गरिएको थियो । स्वागत गर्ने क्रममा सुदूरपश्चिमको हुड्केली नाच पनि प्रदर्शन गरिएको थियो ।
नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको गृह प्रदेशमा कोइरालालाई गरिएको भव्य स्वागतले पार्टीभित्र नयाँ तरंग पैदा गराएको छ । एक स्थानीय कार्यकर्ताले बताए अनुसार यस पटक पार्टी सभापति शेर बहादुर देउवा आउँदा भन्दा पनि नेता कोइरालाको स्वागतमा बढी सहभागिता रहेको बताए ।
पार्टी सभापति देउवाको कार्यशैलीबाट वाक्कदिक्क भएका सुदूरपश्चिम कांग्रेसी नेता तथा कार्यकर्तामा निकै खुसी छाएको र पार्टीभित्र नयाँ नेतृत्व आवश्यकता रहेको नेपाली कांग्रेस बझाङ जिल्ला कार्यसमिति सदस्य महेश बहादुर मल्लले बताएका छन् ।
दिउँसो धनगढीमै नौ वटा जिल्लाका पार्टी कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेका जनाइएको छ ।
प्रतिक्रिया