मागैमागले थलियो उपकुलपति कार्यालय

आफ्नै कार्यकक्षमा छिर्न पाएनन् उपकुलपति

1.22k
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको मूल गेटमै स्ववियु सचिवले धर्ना दिएको सातादिन भयो। त्रिवि कर्मचारी संघले करिब आधादर्जन माग राखी हिजोबाट उपकुलपति कार्यालयमा एकघण्टे धर्ना शुरू गरेका छन्। यही ५ गतेसम्म कर्मचारी संघको धर्ना जारी रहने छ।

स्ववियु सचिव सिद्धान्त भट्टले ३५ सूत्रीय माग राखी धर्ना जारी राखेका छन्। आज बुधबार आठौं दिन भयो, उपकुलपति कार्यालयले धर्नालाई मतलब दिएको छैन। उपकुलपति प्राडा केशरजंग बराल आइतबार रेक्टर कार्यालय पुगेकार डीन र निर्देशकलाई नियुक्तिपत्र दिनुभएको थियो। त्यसपछि कार्यालय आउनुभएको छैन। सचिव भट्टले माग गरेको नीतिगत निर्णय गर्ने विषयमा उपकुलपति कार्यालयले वास्ता गरेको छैन।

उपकुलपति प्राडा केशरजंग बरालको कार्यकक्षको मूलगेटमै धर्ना दिएका स्ववियु सचिव भट्टको माग सम्बोधन गर्न उपकुलपति कार्यालयले कु्नै चासो देखाएकै छैन। सचिव भट्टले माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनुभयो।

उहाँले भन्नुभयो – ‘नीतिगत निर्णय नगरेसम्म २४ सै घण्टा धर्ना जारी रहन्छ, पूरा गर्ने चासो नदेखाए थप सशक्त आन्दोलनमा जानुको विकल्प छैन।’

भट्टले अनुसन्धान केन्द्रहरूलाई विद्यार्थीसँग जोड्न र कार्यरत प्राध्यापकले अनिवार्य रूपमा आफू सम्बन्ध रहेको कुनै न कुनै विभागमा अध्यापन गराउनुपर्ने व्यवस्था गर्नुपर्ने, प्रत्येक वर्ष प्राध्यापक र कर्मचारीले विश्वविद्यालयलाई दिएको शैक्षिक प्राज्ञिक र प्रशासनिक विवरण स्वमूल्यांकन उपलब्ध गराउने र सोको व्यक्ति डिजिटल प्रोफाइल निर्माण गरी रेकर्ड राख्ने व्यवस्था गर्नुपर्ने माग राख्नुभएको छ।

शैक्षिक सत्रअघि नै वार्षिक प्रणाली र सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्र्थी संख्याको कम्तीमा ४० प्रतिशत हुने गरी छात्रवृत्तिको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने, प्रयोगशालामा काम गर्ने प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूको दुर्घटना उपचार खर्च र बिमाको व्यवस्था गर्नुपर्ने नीति कार्यान्वयन हुनुपर्ने विषय उल्लेख गर्नुभएको छ ।

हाल पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको विदेशी विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्र र उपाधिको मान्यता र समकक्षताका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने, विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीको क्रेडिट ट्रान्सफर गर्ने नीति समावेश गरिनुपर्ने, ट्रान्सकृप्ट तयार गर्न सम्बन्धित डीन कार्यालयलाई अधिकारसहित सम्बन्धित संकाय तथा संस्थानले दीक्षान्त कार्यक्रम आफैं सञ्चालन गर्ने व्यवस्था गरिनुपर्ने, सेवा आयोगले त्रिवि ऐन, नियमविपरीत सबै विज्ञापन खारेजगरी खुला प्रतिस्पर्धा गर्न नयाँ विज्ञापन जारी गर्नुपर्ने माग राख्नुभएको छ ।

त्यस्तै, प्रत्येक सेमेस्टर वर्षमा तत्काल मेकअप परीक्षाको व्यवस्था गर्नुपर्ने, आंशिक शिक्षकलाई स्वतः करार गर्ने प्रक्रिया खारेज गर्नुपर्ने, श्रेणीविहीन कर्मचारीलाई स्वतः स्थायी गर्ने अदालतको आदेशविपरीतको अवधारणा सदाका लागि बन्द गरी खुला प्रतिस्पर्धाबाट मात्रै सेवा प्रवेशको व्यवस्था गर्नुपर्ने, सेवा प्रवेशका लागि कम्तीमा पीएचडी हुनुपर्ने न्यूनतम मापदण्डको व्यवस्था गर्नुपर्ने, सबै प्राध्यापकका पीएचडीको पारदर्शी रूपमा छानबिन गर्नुपर्ने उल्लेख छ ।

ती माग पूरा नगरेसम्म धर्ना जारी राख्ने स्पष्ट पार्दै सचिव भट्टले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्रिविको शैक्षिक र प्रशासनिक सुधारका लागि आन्दोलन गरेका हौं ।’ यी विषयमा उपकुलपतिले नीतिगत निर्णय नगरेसम्म धर्ना कार्याक्रम फिर्ता नहुने उहाँको अडान थियो।

धर्नामा त्रिविको शैक्षिक, प्राज्ञिक र प्रशासनिक अवस्था सुधार र व्यवस्थित नभएसम्म आंगिक र सामुदायिक क्याम्पसबाहेक अरूमा कार्यक्रम थप गर्न नहुने, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्दा चरम लापरबाही गर्ने परीक्षा नियन्त्रक र परीक्षाको मर्यादा र संवेदनशीलताप्रति उत्तरदायी नहुने र गलत गर्ने जोसुकैलाई यथाशीघ्र कारबाही गर्ने व्यवस्थाको थालनी गर्नुपर्ने, पाठ्यक्रम विकास केन्द्रमा हुने चरम लापरबाही, ढिलासुस्ती र बेथितिको अन्त्य गरी ४८ घण्टाभित्र सेवा प्रवाह गर्नुपर्ने, त्रिविमा ५ सयदेखि १ हजार क्षमताका सेमिनार हल निर्माणको प्रक्रिया तत्काल थालनी गरिनुपर्ने, एकै प्रकारका विषय अध्यापन गराइने दूरीका हिसाबले नजिक रहेका क्याम्पसका कार्यक्रमलाई मर्ज गरी विद्यार्थी संख्याको आधारमा प्राध्यापक र कर्मचारीको दरबन्दी पुनरावलोकन गरिनुपर्ने माग अघि सारिएको छ।

विश्वविद्यालयको जग्गामा रहेका सबै व्यावसायिक संस्था तथा संरचनाहरू हटाउने, बक्यौता लिन बाँकी भएका संस्थाहरूसँग रकम लिने, म्याद नाघेका सबै संरचना हटाउने र सबै सम्पत्तिको छानबिन गरी संरक्षण गर्नुपर्ने, अध्ययन बिदामा रहेका, अध्ययन बिदा सकिएपछि विश्वविद्यालयमा हालसम्म पनि हाजिर हुन नआएका प्राध्यापकलाई कारबाही गर्नुपर्ने, हाल सञ्चालन भइरहेका केही संकायका केही विषयको दिवाकालीन कक्षालाई बिहानी सत्रमा सञ्चालन हुने गरी सिफ्ट परिवर्तन गर्नुपर्ने, अब बन्ने सबै शैक्षिक संरचनाहरू अपाङ्गमैत्री बनाउनुपर्नेलगायतको माग अघि सारेका छन्।

उता, त्रिवि कर्मचारी कर्मचारी संघले हिजो मंगलबारबाट उपकुलपति कार्यालयको मूल गेटमा धर्ना दिएका छन्। सेवासुविधाको माग राखी आन्दोलन जारी राखेको संघले ५ गतेसम्म नियमित १ घण्टा धर्ना दिने जनाएको छ । संघका अध्यक्ष छत्रबहादुर कार्कीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताउनुभयो। उहाँका अनुसार ५ गतेसम्म धर्ना दिएलगत्तै ६ गते परीक्षा नियन्त्रण कार्यालय बल्खुमा बैठक बसेर थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेछ।

कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग कर्मचारीहरूको छ। नेपाल स्वास्थ्य सेवा ऐनअनुसार त्रिभुवन विश्वविद्यायमा कार्यरत नर्सिङ र प्राविधिक कर्मचारीको स्तरवृद्धि गर्नुपर्ने, रिक्त दरबन्दीमा विज्ञापन खुलाउनुपर्ने माग संघको छ।

लामो समयसम्म एउटै पदमा कार्यरत कर्मचारीको एकतह पदोन्नति गर्नुपर्ने, सेवानिवृत्त हुँदा सञ्चित विशेष तलबी बिदा रकम सम्पूर्ण कर्मचारीले पाउने व्यवस्था गर्नुपर्ने, विगतमा खोसिएका सेवासुविधा दिनुपर्ने र ज्यामी, ज्यालादारीलगायत श्रेणीविहीनको समस्या समाधान गरी सेवा सुनिश्चित गर्नुपर्ने माग कर्मचारीहरूले राखेका छन्।