खाद्य परीक्षणमा लापरबाही

जनताको जनस्वास्थ्यमा खेलबाड

376
Shares

काठमाडौं ।

सरकारले जनताको खाद्य अधिकारको प्रत्याभूत गर्ने उद्देश्यले वार्षिक करोडौँ रुपियाँ लगानी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी तरिकाले परीक्षणलाई तीव्रता दिन नसक्दा जनताको स्वास्थ्यसँग खेलवाड हुने गरेको छ।

बजारमा गुनासो आएको ठाउँमाबाहेक कतै अनुगमनमा नजाँदा तरकारी, दूध, माछा, मासु, तेल, पानी, फास्टफुडलगायत खाद्य वस्तुमा मिसावट छ्यापछ्याप्ती देखिएको हो। एकमात्र निकायको एकछत्र बजारमा भएका खाद्य वस्तुको परीक्षण गर्ने जिम्मा पाएको हुनाले व्यापारीसँग साँठगाँठ हुने गरेको उपभोक्तावादीले आरोप लगाएका छन्।

बजार अनुगमनदेखि नियमन र आफ्नै ल्याबबाट गुणस्तरीयता परीक्षणसमेत गरेर खाद्यवस्तुमा देखिने कैफियतको नियमन गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग छ । पछिल्लो समय काठमाडौं महानगरपालिका आफ्नै ल्याब राख्ने पहल गरिरहेको छ।

अन्य निकायले खाद्य परीक्षण नगर्ने भएको हुनाले विभागमा आउने महानिर्देशक व्यापारीको साँठगाँठमा आउने गरेको विभाग स्रोतले जनाएको छ । सरकारी कार्यालयको प्रमुख बारम्बार परिवर्तन गरिरहने देशमा एकै व्यक्ति बारम्बार महानिर्देशकको जिम्मेवारी विभागले पाइरहको छ । आफ्नै अत्याधुनिक ल्याब भएको विभागसँग ५ सयभन्दा बढी कर्मचारी रहेको विभागले जनाएको छ ।

देशभर प्रदेशस्तरीय, सीमा नाकाका क्वारेन्टाइन कार्यालयसमेत रहेको विभागको काम भने सबै ठाउँको सुस्त छ। जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारीसँग समन्वयमा बजार अनुगमन र अहिले त स्थानीय तहसँगको समन्वयमा बजार अनुगमन गर्न सक्ने व्यवस्था कानुनले दिएको छ। तर, विभाग भने कुम्भकर्णीय निद्रामा सुतिरहेको उपभोक्ताले गुनासो गरेका छ।
उपभोक्तावादी माधव तिमल्सिनाले भने आवश्वक मात्रामा स्रोतसाधन र जनशक्ति नभएको हुनाले विभागको काम प्रभावकारी नरहेको बताउनुभयो।

अघिल्लो वर्ष विभाग मर्ज गर्ने भनेर बजेट नराख्दा समेत विभागलाई सञ्चालन गर्न अप्ठ्यारो परेको थियो। उहाँले तरकारी, दूध, माछा, मासु, तेल, पानीलगायत सामग्रीमा अत्यावश्यक मिसावट रहेको बताउनुभयो।

उहाँले फास्टफुडलगायत सामग्रीमा मापदण्ड नबन्दा क्यान्सरजस्ता जघन्य रोग लागिरहेको बताउनुभयो । उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिने हो भने सरकारले उपभोक्ताको स्वास्थ्यसँग जोडिएका कानुनलाई परिमार्जन गर्दै खाद्य सामग्रीको नबनेको मापदण्ड बनाउनुपर्ने विषयमा उपभोक्तावादीको मत रहेको छ।

कुन खाद्य वस्तुमा के मिसावट गरिन्छ
दूध र दुग्ध पदार्थ
पानी, स्टार्च, डिटर्जेन्ट, चकपाउडर, आक्सालिक एसिड मिसावट गरिन्छ । यसले पाचन समस्या, पेटको क्यान्सर, फोक्सो र कलेजोको समस्या ल्याउने विज्ञहरूले जनाएका छन् ।
तेल र घिउ मिसावट
खनिज तेल, सस्तो र हानिकारक तेल मिसावट गरिन्छ । यसले हृदय रोग, कलेजोमा समस्या ल्याउने देखिएको छ ।
पानी
औद्योगिक फोहोर पानी, फिल्टर नगरेको शुद्धीकरण नगरेको पानी मिसाइएको हुन्छ । पेटको यसले पेटको रोग, रोग, डायरियाजस्ता रोग लाग्ने गर्दछ ।
दाल
पालिस (रङ लगाइएको), ढुंगा, अन्य सस्तो दाल मिसाइएको हुन्छ । यसले पाचन समस्या, पेटको रोग ल्याउने विज्ञहरूले बताएका छन् ।
फलफूल र तरकारी
क्याल्सियम कार्बाइड (पकाउन), सेतो रङ, वैक्सलगायत मिसावट गरिन्छ । यसले पेटको समस्या, क्यान्सरको सम्भावना रहने छ।
चिनी र मिठाई
वासिङ सोडा, सिन्थेटिक रङ, सस्तो मिठास ल्याउने पदार्थ मिसाइएको हुन्छ । यसले स्वास्थ्यमा पेट दुख्ने, डाइबिटिज हुने समस्या ल्याउँछ ।
मसला (बेसार, धनियाँ, खोर्सानी)
यसमा इँटाको धुलो, पहेँलो रङ, सस्तो धूलो मिसाइएको हुन्छ । यसले स्वास्थ्य पेट र छालाको रोग ल्याउने छ।
चामल
प्लास्टिकका कण, पुरानो स्टक चामलमा मिसाइएको हुन्छ। कतैकतै प्लास्टिकको चामल पनि बेचिएको हुन्छ। पेटको रोग ल्याउने गरेको छ।