पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक मोह: राज्यको सुविधा कहिले खोसिन्छ ?

2.82k
Shares

काठमाडौं ।

राज्यकोषबाट सेवासुविधा लिएर नैतिक मर्यादाविपरीत राजनीतिमा सक्रियता बढाउन थालेका पूर्वराष्ट्रपति र उपराष्ट्रपतिले पाउँदै आएको सेवा खोस्नुपर्ने माग बढेको छ । पार्टीको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्कन जोडतोडका साथ लागेका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले लिँदै आएको सरकारी सेवासुविधा तत्काल खोस्नुपर्ने माग बढेको हो ।

नेकपा एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी दुई कार्यकाल गरी साढे सात वर्ष राष्ट्रपतिको जिम्मेवारीमा रहनुभएको थियो । २०७२ असोजदेखि २०७९ फागुनसम्म राष्ट्रको सर्वोच्च पदमा रहेकी भण्डारी २०७९ फागुन २९ गतेबाट पूर्वराष्ट्रपतिको हैसियतमा सरकारी सेवासुविधा भोग गर्दै पार्टीका विभिन्न औपचारिक अनौपचारिक कार्यक्रममा सक्रिय हुनुहुन्छ। त्यस्तै, पूर्वउपराष्ट्रपति ‘पासाङ’ नेकपा माओवादी केन्द्रको आन्तरिक बैठकमै सहभागी भएर पार्टी उपाध्यक्षको बार्गेनिङ गर्दै आउनुभएको छ।

तत्कालीन माओवादी जनयुद्धकालका डेपुटी कमान्डर पुन माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनमा नगएर राजनीतिमा लाग्नुभएको थियो । २०७२ सालमा उपराष्ट्रपतिमा निर्वाचित भएसँगै माओवादीबाट अलग भएका उहाँ २०७९ को निर्वाचनपछि उपराष्ट्रपतिबाट बाहिरिएसँगै पुनः पार्टी राजनीतिमा मोह देखाउनुभएको हो । पासाङलाई पार्टीको उपाध्यक्ष बनाउने तयारीस्वरूप विभिन्न चरणमा छलफल भइरहेको माओवादी नेताहरूले बताएका छन् ।

‘संवैधानिक रूपमा राष्ट्र प्रमुख उपप्रमुखको हैसियतमा पुगिसकेका व्यक्तिहरू राजनीतिमा फर्कनु मर्यादाविपरीत हो’, राजनीतिक विश्लेषक लोकराज बराल भन्नुहुन्छ – ‘उहाँहरूलाई कानुनी बाधा त छैन तर नैतिक आधारमा यो ठिक भएन। राजनीतिमा फर्कन लाग्नुभएका उहाँहरूले खाइपाइ आएको सुविधा बन्द गर्नुपर्छ, राज्यले त्यसमा विचार पुर्‍याउनुपर्छ। राजनीतिमै लाग्ने सोच भएको भए पहिला नै उहाँहरू संवैधानिक पदीय जिम्मेवारीमा आउन नहुने बरालको टिप्पणी छ।

२०८० जेठ १६ गते एमालेले आयोजना गरेको राष्ट्रिय महिला भेलाको उद्घाटन भण्डारीले गर्नुभएको थियो । भेलामा अध्यक्ष केपी ओली अतिथिका रूपमा उपस्थित भए पनि कार्यक्रमको उद्घाटन भण्डारीले नै गर्नुभएको थियो । एमालेको हीरक महोत्सवमा सहभागी भएकी भण्डारी गत असार ३ मा मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गर्दै राजनीतिप्रति थप क्रियाशील हुनुभएको हो।

पार्टीको जिम्मेवारी खोज्दै भौंतारिइरहेका पूर्वराष्ट्रपति भण्डारी र उपराष्ट्रपति पासाङ सक्रिय राजनीतिमा फर्कने तयारी भइरहँदा राज्यकोषबाट प्राप्त हुने सेवासुविधा लिएर सरकारी ढुकुटीको दुरुपयोग भइरहेको छ। राजनीति विश्लेषक तथा अर्थविद् डा. गोविन्दराज पोखरेलले पूर्वराष्ट्रपति– उपराष्ट्रपति भइसकेका व्यक्तिहरू फेरि राजनीतिमा फर्कनु कानुनी बन्धन नभए पनि नैतिक हिसाबले राम्रो नमानिने बताउनुभयो । राजनीतिमा सक्रिय हुने त्यस्ता व्यक्तिहरूको सेवासुविधा खोसिनुपर्ने उहाँको तर्क छ।

‘उहाँहरू राजनीतिमा सक्रिय हुने हो भने राज्यकोषबाट लिँदै आएको सेवासुविधा तत्काल फिर्ता गर्नुपर्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रपति–उपराष्ट्रपति देशको सबैभन्दा माथिल्लो ओहोदा हो। त्यहाँ पुगिसकेका व्यक्तिहरू फेरि राजनीतिमा फर्कनु नैतिक हिसाबले राम्रो मानिँदैन। यदि, उहाँहरू कार्यकर्ता नै बनेर पार्टी राजनीतिमा आउन खोजेको हो भने उहाँहरूले राज्यकोषबाट पाउने सेवासुविधा तत्काल फिर्ता गर्नुपर्छ वा सरकारले नै रोक्नुपर्छ । पूर्वप्रधानमन्त्रीहरूको जस्तै सेवासुविधा कटौती गर्नुपर्छ।’

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो पुरानो पार्टी सदस्यता ब्युँताउने विषय गत जेठमै सदनमा प्रवेश गरेको थियो । त्यस बेला प्रतिनिधिसभा बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति भण्डारीले एमाले पार्टीको सदस्यता नवीकरण गरेको अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा राज्यले सेवा/सुविधाका विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको थियो।

‘पूर्वराष्ट्रपतिले एउटा पार्टीको सदस्यता नवीकरणको कुरा आयो । सदस्यता नवीकरण गर्ने हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन ? राज्यले त्यसबारे के सोचेको छ ? सरकारले त्यसको जवाफ दिनुपर्छ’, खतिवडाले सरकारलाई प्रश्न गर्नुभएको थियो ।

पार्टी सदस्यता नवीकरण गरी सक्रिय राजनीतिमा हामफालेसँगै राज्यबाट पूर्वराष्ट्रपति–उपराष्ट्रपतिको हैसियतमा प्राप्त सबै सेवासुविधाका सन्दर्भमा सरकारले तत्काल नियमन गर्नुपर्ने सांसदहरूले आवाज उठाएका छन् । भण्डारीको एमाले पार्टी सदस्यता २०८० वैशाख १ गते नयाँ वर्षको अवसर पारेर संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले नवीकरण गरेको एमाले स्रोतले बताएको छ ।

एमाले पोलिटब्युरो सदस्य विशाल भट्टराईले भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय गौरवको विषय भएको प्रतिक्रिया दिनुभयो । ‘जीवनको उत्तराद्र्धमा पनि कम्युनिस्ट पार्टीको सदस्यता नवीकरण गर्नु गौरवको विषय हो’ –उहाँले भन्नुभयो ।