मधेशमा बिहेत्तर प्रेम सम्बन्धका कारण हत्या अधिक


वीरगञ्ज।

गत कात्तिक १२ गते महोत्तरीका पिपरा गाउँपालिका वडा नम्बर–७ स्थित दनौलीमा २६ वर्षीय मालती मण्डलको शव फेला परेको थियो । धनुषाको सहिद नगरपालिकास्थित निमुवा टोलकी उनको प्रेमीले घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । प्रहरीले विवाहेतर सम्बन्धकै कारण मालतीको हत्या भएको निष्कर्ष निकाल्दै त्यही बमोजिम दुई जनालाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।

महोत्तरी प्रहरी प्रवक्ता सन्तुलाल जैसवारका अनुसार राकेश नायकको मृतक मण्डलसँग विवाहेतर सम्बन्ध थियो, जुन कुरा उनको श्रीमतीले जानकारी पाइन् । ‘त्यसपछि श्रीमतीको मिलेमतोमा मण्डलको हत्या भएको अनुसन्धानको निष्कर्ष छ’, उनले भने । यो घटनामा मटिहानी नगरपालिका वडा नम्बर–५ का राकेश नायक र उनकी श्रीमती रीना हिरासतमा छन् । कात्तिक १ गते वीरगन्जका वीरेन्द्र साह सोनार बारामा मृत भेटिए । उनी गण्डक नहरमा मृत भेटिएका थिए । घटनाको प्रकृति हेर्दा सोनारको स्वाभाविक मृत्यु नभई हत्या भएको आशंका प्रहरीले गर्यो , त्यसपछि प्रहरीले घटनाको सूक्ष्म अनुसन्धान गर्न विशेष टोली खटायो।

प्रहरीको सूक्ष्म अनुसन्धानले हत्याको निष्कर्ष निकाल्दै एक सातामै मुख्य अभियुक्त पक्राउ गर्न सफल भयो । बारा प्रहरी प्रमुख महेन्द्र खड्का अनुसार मुख्य अभियुक्त पक्राउ परिसकेपछि हत्याको रहस्य पनि खुल्यो । विवाहेत्तर सम्बन्धकै कारण सोनारको हत्या भएको प्रहरी अनुसन्धानले खड्काको भनाइ छ । महोत्तरी र बारामात्रै होइन, पछिल्लो समय मधेस प्रदेशमा विवाहेतर सम्बन्धका कारण मृत्यु हुनेको सङ्ख्या लामै छ ।

बितेको चार वर्षको अवधिमा मधेसमा यस्ता अनैतिक सम्बन्धका कारण शृंखलावद्ध हत्याका घटनाहरू भएका प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष ०७८-०७९ देखि ०८१-०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएको हो । मधेस प्रहरीका अनुसार यस्ता घटनामा पुरुषको तुलनामा महिलाको धेरै मृत्यु भएको तथ्यांकले देखाउँछ । अर्थात् आर्थिक वर्ष ०७८-०७९ देखि ०८१-०८२ को मंसिरसम्मको अवधिमा ३३ जनाको मृत्यु भएकोमा २४ जना महिला रहेका छन् ।

प्रदेश प्रहरीले दिएको तथ्याङ्क अनुसार विवाहेतर प्रेम सम्बन्धका कारण मधेसमा गत वर्ष ०८०-०८१ सबैभन्दा बढी हत्याका घटना भएका छन् । यो वर्ष प्रदेशमा एक नाबालिकासहित ११ जनाको मृत्यु भएको छ । यसैगरी ०७८-०७९ मा सात घटना हुँदा ८ जनाको मृत्यु भएको छ । यो वर्ष पनि एक नाबालिकासहित ८ जनाको ज्यान गएको छ ।

यस्तै ०७९-०८० सालमा ६ घटनामा ६ जना तथा ०८१-०८२ को मंसिर मसान्तसम्म ८ घटना भएका छन्, जसमा पाँच महिला र ३ जना पुरुष गरी ८ जनाको हत्या भएको छ । रौतहट र पर्सामा मात्र यो चार वर्षमा क्रमशः सात-सात जनाले ज्यान गुमाएको मधेस प्रहरीको तथ्याङ्क छ । मधेस प्रदेश प्रहरी प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार मूलतः अशिक्षाका कारणले यस्ता घटनाहरू भइरहेका छन् । यस्तै दाइजो प्रथाले पनि मधेसमा यस प्रकारका घटनाहरू निम्ताएको उनको तर्क छ । विशेष गरी विवाह सम्बन्धमा आउने दरार, अपहेलनामा पर्नु पनि यस्ता घटना हुनुको प्रमुख कारण भएकामे प्रहरीको तर्क छ ।