काठमाडौँ ।
पूर्व प्रमुख स्व. पिएल (प्रेमलाल) सिंहलाई मंसिर २९ गते काठमाडौँ महानगरपालिकाकाले सम्मानित गरेको थियो । उहाँको कार्यकालमा घोषणा भएको महानगर ३० औँ वर्ष प्रवेश अवसरमा मंसिर २९ गते सम्मान प्रदान गरिएको हो ।
काठमाडौँ नगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्नुभएको, ‘स्थानीय स्वायत्तता’ र ‘स्वशासन’ प्रवर्धनका लागि पदमा रहेर वा नरहेर जुनसुकै अवस्थामा पनि योगदान गर्नुभएका कारण उहाँलाई सम्मान गरिएको थियो । स्वास्थ्य प्रतिकुलताका कारण उहाँ आफैँले सम्मान ग्रहण गर्न सक्नुभएको थिएन । उहाँले शुभेच्छा प्रकट गर्नुभएको थियो । त्यसको २ दिन नसकिँदै सिंह भूलोक छोडेर परलोक प्रस्थान गर्नुभयो ।
प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो । उहाँ भन्नुहुन्थ्यो (वि.सं. २०५४ अगाडिको सन्दर्भमा), ‘स्थानीय निकायलाई आफ्ना नागरिकको सेवा र सहजताका लागि आफैँ ‘निर्णय गर्ने’ र आफूले गरेको ‘निर्णय कार्यान्वयन’ गर्ने अधिकार चाहिन्छ । यो स्वायत्तता हो । यसप्रकारको स्वायत्तता प्राप्त भएपछि मात्र स्थानीय निकायमा स्वशासन हुन्छ । आफूले निर्णय गरेपछि कार्यान्वयन गराउन राष्ट्रसेवकसँगै नगर प्रहरीको व्यवस्था गर्नुपर्छ । काठमाडौँ उपत्यकालाई जोडेर मेट्रो बनाउनु पर्छ । एउटै उपत्यकाभित्र धेरै प्रशासनिक एकाइमा अधिकार छरिँदा काम गर्न र नतिजा ल्याउन कठिन हुन्छ ।’
स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व. सिंहको महत्वपूर्ण भूमिका छ ।
पूर्व प्रमुख सिंहको आज विहान आफ्नै निवासमा निधन भयो । उहाँको पार्थिव शरीरमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका श्रद्धाञ्जली अर्पण गर्नुभयो । चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरुले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गर्नुभयो । उहाँहरुसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।
वि. सं. १९९६ साल चैत ११ गते जन्मनुभएका सिंह पछिल्लो समय उपचारसँगै उहाँ ठमेल चाक्सीबारी निवासमा आराम गरिरहनुभएको थियो । पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया