सिन्धुली ।
गाई काटेर मारेको भन्ने आरोपमा प्रहरीले पक्राउ गरेका दुई जनालाई तत्काल छाड्न नेपाल तामाङ घेदुङ सिन्धुलीले माग गरेको छ । आज नेपाल तामाङ घेदुङ सिन्धुलीका अध्यक्ष सुरद बहादुर स्याङतानको नेतृत्वमा बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनसहित तामाङ समुदायका अगुवाहरुले जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत गृह मन्त्रालयलाई ४ सूत्रीय ज्ञापन पत्र बुझाएर पक्राउ परेका दुई जनालाई विना सर्त रिहा गर्न माग गरेका हुन् ।
गत मंसिर २६ गते सिन्धुलीको मरिण गाउँपालिका वडा न. ५ का ऐमान सिङ गोले र नगदले गोलेलाई गाई काटेर मासु खान खोजेको आरोपमा ईलाका प्रहरी कार्यालय कपिलाकोटले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पठाएको थियो । स्थानीयको मरेको गाई (सिनो) काटेर मासु खान लाग्दा जिउँदो गाई काटेको भन्ने झुठो अभियोग लगाएर ऐमान र नगदलेलाई प्रहरीले थुनामा राखेको नेपाल तामाङ घेदुङ सिन्धुलीले जनाएको छ ।
परापूर्व कालदेखि नै तामाङ समुदायले मरेको गाई गोरु काटेर मासु खादै आएकाले वडा नम्बर ५ कै स्थानीय संगिता माझीको मरेको गाई काटेको विज्ञप्तिमा उल्लेख छ ।
घेदुङले जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुँयाललाई बुझाएको ज्ञापन पत्रमा ऐमान सिं गोले र नगदले गोलेमाथि नगाएको गाई मारेको भन्ने झुट्ठा मुद्धा खारेज गर्नुपर्ने, थुनामा राखिएको ऐमान र नगदलेलाइ बिना सर्त तुरुन्त रिहा गर्नुपर्ने, निर्दोष व्यक्तिलाई पक्राउ गर्न आदेश दिने प्रहरी अधिकारी माथि विभागीय कार्यवाही गर्नुपर्ने, विना अपराध धुनिएको ऐमान र नगदलेलाइ उचित क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ ।
पाँच दिन भित्र माग पुरा नभए आन्दोलनमा उत्रिने घेदुङले चेतावनी समेत दिएको छ । आन्दोलनबाट हुने असहज परिस्थितिको जिम्मेवार प्रशासन नै हुने विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया