कास्की ।
सहकारी घोटलामा मुछिएका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरी छानबिन सकिएपछि अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र सङ्गठित अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारिएकाले सम्भवतः तीनवटै मुद्दा एकै पटक अब दर्ता हुनेछ ।
संघीय संसदका सांसद सूर्य थापा नेतृत्वको सहकारी बिशेष छानबिन समितिले लामिछाने सहकारी प्रकरणमा संलग्नता देखिएको भन्दै प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेपछि उनी कार्तिक २ मा पक्राउ परेका थिए ।
नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सोमबार नै लामिछाने विरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरिएकाे छ । त्यसपछि सरकारी वकिल कार्यालयले सम्भवतः सोमबार नै अदालतमा लामिछानेलाई उभ्याउने छ ।
कास्की प्रहरीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण तथा किर्ते र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाइएको हो ।
प्रतिक्रिया