बाँके ।
बाँकेको हिरमिनियाका किसानले दोस्रो पटक आलु लगाएका छन्। कात्तिक तेस्रो साता आएको बेमौसमी पानीले सखाप पारेपछि किसानले दोस्रोपटक आलु लगाएका हुन्।
दोस्रोपटक आलु लगाएका किसान अझै राम्रो हुनेमा डराइरहेका छन्। चिसो शुरू भएसँगै आलुलाई ‘पाला’ले असर गर्ने गर्दछ। एकपटक पानी र अर्को पटक पालाले नोक्सानी पु¥याउने हो कि भन्ने किसानलाई चिन्ता रहेको छ।
कालाबन्जरका नरेन्द्र कुम्हारले २ लाख खर्च गरेर पुनः आलु लगाएको बताउनुभयो। पहिला आलु लगाउँदा नरेन्द्रले ३ लाख बढी खर्च गर्नुभएको थियो । दोस्रोपटक आलुको बिउ किनेर लगाउनु प¥यो । मल हाल्नु परेन। नरेन्द्रले १७ कठ्ठामा आलु लगाउनुभएको छ।
‘पहिला लगाएको आलु कात्तिक १९ गते आएको पानीले सखाप पार्यो। जग्गा त्यत्तिकै राख्नु भएन । आफन्तीसँग सापट र ऋण गरेर फेरि बिउ ल्याएर आलु लगाएका छौं, नरेन्द्रले भन्नुभयो, समयमा लगाएको आलुलाई पानीले सखाप पार्यो, अलि ढिला गरी फेरि आलु लगाएका छौं । यसलाई चिसोसँगै देखिने पालाले असर गर्छ कि भन्ने चिन्ता बढेको छ।’
स्थानीय रमेश मौर्यले पहिला लगाएको आलु बेमौसमी पानीले गर्दा नउम्रिएपछि सहकारीबाट ऋण लिएर पुनः आलु लगाएको बताउनुभयो।
हिरमिनिया जिल्लाको आलु पकेट क्षेत्र हो । यहाँका सबै किसानले आलु खेती गर्छन् । चाडबाड सकिएसँगै र केहीले दुई÷चार दिन पहिला आलु लगाएका थिए। एक्कासी कात्तिक १९ गते साँझ ठूलो पानी परेपछि आलु लगाएको बारी डुबानमा परेको थियो। तीन दिनसम्म डुबेको बारीमा आलुको बिउ सबै कुहिएको थियो। जेनेटर लगाएर पानी फालेका किसानले अलिअलि उम्रिन्छ कि भन्ने आशा गरेका थिए। केहीको अलिकति अग्लो ठाउँमा उम्रिएको छ। ऋणधन गरेर फेरि पैसा जुटाउन सक्ने किसानले आलु लगाएका छन् । पैसाको जोहो गर्न नसक्नेले तोरी, मुला, भाजी, पालक, मेथी, चम्सुर लगाएका छन्।
हिरमिनियामा सबैभन्दा धेरै आलु लगाउने किसानमा जयपाल मौर्य पर्नुहुन्छ। उहाँले ड्याङ बनाएर आलु लगाएकाले डुबानमा परे पनि केही उम्रिएको छ । बीचबीचमा नउम्रिएको ठाउँमा फेरि लगाउनुभएको छ। त्यहाँका रामु मौर्यले सबै ठाउँमा दोस्रोपटक आलु लगाउनुभएको छ। रमेश मौर्यले दोस्रोपटक पनि पाँच हजार क्विन्टलका दरले बिउ किनेर आलु लगाएको बताउनुभयो । ‘अहिले तपाईंले जति पनि भर्खरै उम्रिएको आलु देख्नुभएको छ । त्यो सबै दोस्रोपटक लगाएका हुन्, मौर्यले भन्नुभयो, केही घण्टामात्रै परेको पानीले किसानलाई ठूलो नोक्सानी गर्यो।’
केहीको भने एउटा खेतमा एकातिर आलु देखिन्छ भने अर्कोतिर खाली । त्यो खाली देखिएको डुबानमा परेर आलु नउम्रिएको ठाउँ हो । डुडुवा गाउँपालिका वडा नं. ६, हिरमिनियाका वडाध्यक्ष मोहनराम मिश्रका अनुसार, हिरमिनियाको भंघोटना, चौधरीपूर्वा, कालाबन्जार, बल्दीपूर्वा, महन्तपूर्वा, मुन्सीपूर्वा, पटवारीपूर्वाका शतप्रतिशत किसानले आलु खेती गर्छन् । बेमौसमी पानीले आलु किसानलाई ठूलो नोक्सानी गरेको छ ।
प्रतिक्रिया