महांकाल मन्दिरको चौघेरा सत्तल मल्लकालीन शैलीमा पुनःनिर्माण

658
Shares


–१० करोड, ५ लाख लागत

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले टुँडिखेलको पश्चिमतर्फ महांकाल मन्दिर परिसर चौघेरा सत्तलको पुनर्निर्माण शुरू गरेको छ । १० करोड ५ लाख रुपियाँ लागतमा निर्माण शुरू भएको सत्तल परम्परागत शैलीमा निर्माण हुनेछ।

कामपा सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राईले शैलीमात्र होइन सम्पूर्ण सामग्री पनि परम्परागत हुने जानकारी दिनुभयो। सत्तल मल्लकालीन हुनेछ।

विभागका वरिष्ठ इन्जिनियर रविन्द्र रिजालका अनुसार उक्त सत्तल ५ सय ८३ वर्गकिलोमिटर हुनेछ भने जमिन तलामा ९ वटा कोठा रहनेछन् । पहिलो तलामा ३ वटा सभाकक्ष, एउटा कोठा र एउटा भण्डारकक्ष हुनेछ । यसमाथि बुइँगल हुनेछ । रिजालका अनुसार विसं १९९७ सालमा खिचिएको तस्वीरका आधारमा पुनर्निर्माण हुनेछ ।

मन्दिरको पूर्व, उत्तर र दक्षिण भागमा सत्तल हुनेछ । पश्चिमतर्फ पर्खाल र कलात्मक प्रवेशद्वार हुनेछ। सत्तल झिँगटीको छानायुक्त हुनेछ। यसको विस्तृत परियोजना प्रतिवेदन सहरी योजना आयोगले तयार पारेको हो। सत्तल पुनर्निर्माणका लागि २०८० फागुन ४ गते सार्वजनिक सूचना जारी गरिएको थियो।

यसबाट ५ वटा प्रस्ताव पेस भएका थिए। यीमध्ये ४ वटाको प्राविधिक प्रस्ताव अस्वीकृत भए । निर्माण पक्षलाई गएको असार १९ कार्यादेश दिएको हो । धमाधम निर्माण भए उक्त सत्तल दुई वर्षपछि अर्थात् २०८३ असार १९ गते सम्पन्न हुनेछ ।

मन्दिरका पुजारी दीपकहर्ष वज्राचार्यले यो मन्दिर करिब १ हजार ३ सय ५ सय वर्षअगाडि निर्माण भएको अनुमान गर्नुभयो । मन्दिर स्थापनाका बारेमा चलेको किंवदन्ती सुनाउँदै उहाँले भन्नुभयो– ‘तान्त्रिक शाश्वत वज्र र शिवको आकाश मार्गको यात्रासँग मन्दिर स्थापनाको कथा जोडिएको छ।’

मन्त्रसिद्धि महाविहार (सवल वहाल) मा घाम तापेर बसिरहेका बेला सबैतिर घाम थियो तर उहाँ बसेको ठाउँमा छेकियो । घामको तातो कसरी छेकियो भनेर साधनाबाट हेर्दा ठूलो आकारको शक्ति देखियो । यो शक्तिलाई उनले तान्त्रिक शक्तिले खिचेर तल ताने । तल आएपछि उनलाई थाहा भयो कि तानेको शक्ति त शिव शक्ति रहेछ । दुष्कर्म गर्नेहरूको संहार गरेर घाँटीमा टाउकाको माला लगाएर आकाश मार्गबाट शिव तिब्बततर्फ गइरहनुभएको थियो ।

यो देखेर तान्त्रिकले नेपाल मण्डलमा पनि जनतालाई दुःख, महामारी र समस्या भएकाले यहाँका सबैको सुख शान्तिका लागि यहीँ बस्न आग्रह गरे । तान्त्रिकको आग्रह सुनेपछि शिवले तीन त्रिभुवनको अवस्था बुझ्नुपर्ने भएकाले सधैँ यहीँ बसिरहन नसक्ने बताएर आफू हरेक मंगलबार र शनिबारचाहिँ आउने बताउनुभयो । पहिले त मंगलबार र शनिवारमात्र मन्दिरमा श्रद्धालु आउने गर्दथे । अहिले सबै दिन आउँछन् ।

शाश्वत वज्रले खिच्दा महांकाल पुरानो बसपार्कबाट पुतलीसडक जाने सडक खण्ड अद्व्रैत मार्गमा आएको बताइन्छ। प्रहरी कार्यालयसँगै अहिले महांकालको सानो मन्दिर रहेको छ। त्यहाँबाट टुँडिखेलमा सार्नुसँग नेपालकी छोरी भृकुटी तिब्बतबाट फर्कदा टुँडिखेल छेउमा बास बस्ने गरेको भन्ने भनाइसँग जोडिन्छ । यसबाहेक अन्य कारण खोजीको विषय रहेको छ।

यस मन्दिरमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूले आस्थापूर्वक पूजा आराधना गर्ने गरेका छन्। बौद्धमार्गी तिब्बतियनहरूका लागि यो तीर्थस्थल नै हो । माडवारी समुदायले शनिदेवका रूपमा महांकालको पूजा गर्ने गर्दछन्। महांकालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरूले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वास छ। खराब कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरू मन्दिरको दर्शन गर्न आउँछन्। संकटाको दर्शनपछि महांकालको दर्शनबाट अधिक लाभ हुने श्रद्धालुहरूको विश्वास पाइन्छ ।

मन्दिरसँगै सत्तलको महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा–८ का अध्यक्ष आशामान संगत, स्वास्थ्य तथा शिक्षा समितिका संयोजक एवं वडा–२२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, कार्यपालिका सदस्य, गुठियार, पुजारीसहित सरोकारवालाले जगपूजा गरेका थिए ।

उपमेयर डंगोलले पुर्खाले दिएको नासो जोगाउने अभिभारालाई सबैले दायित्वका रूपमा ग्रहण गर्नुपर्ने बताउनुभयो । सम्पदा समितिका संयोजक संगतले भन्नुभयो– ‘सांस्कृतिक सहरको गरिमा बचाउन समितिले सम्पदा संरक्षण र प्रवद्र्धनमा नियमित काम गरिरहेको छ ।’