काठमाडौं ।
निर्वाचन आयोगले झन्डै तीन महिनादेखि स्थगित गरेको मतदाता नामावली संकलन गर्ने कार्यलाई पुन चालू गरेको छ।
आयोगले देशभरका ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली संकलन गर्ने कार्य चालू गरेको हो।
स्थानीय तह उपनिर्वाचनको घोषणा भएको दिन गत भदौ ३० गतेदेखि मतदाता नामावली कार्य स्थगित गरेको थियो। सो उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकोले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य चालू गरिएको आयोगले जनाएको छ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४ मा निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाताको नाम दर्ता गर्न नमिल्ने प्रावधान रहेको छ। आयोगका अनुसार जिल्लास्थित कार्यालयबाट प्रि–इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत सीधै नामावली संकलन गर्दा निकै चाप बढेका कारण सर्वसाधारणले विगतमा निकै सास्ती व्यहोर्नुपरेको थियो । विगत अनुभवलाई समीक्षा गर्दै अनलाइन प्रणालीबाट नामावली संकलन गर्ने कार्यलाई निरन्तरता दिइएको हो।
१८वर्ष पुगेका नेपाली नागरिकले अनलाइनबाट मतदाता नामावलीमा नाम समावेश गर्नका लागि आवेदन दिन सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो। आयोगले यसपटक २०८१ मंसिर १६ गतेदेखि १८ वर्ष उमेर पुगेका र मतदाता नामावली नाम समावेश भएका मतदाता नामावलीहरू संकलन गर्ने छ । आयोगका अनुसार गत भदौ ३० गतेसम्म देशभर १ करोड ८१ लाख २८ हजार ८ सय ३२ मतदाता छन्। तीमध्ये पुरुष ९२ लाख २५ हजार ४ सय ४८ जना र महिला ८९ लाख ३ हजार १ सय ९७ जना छन् भने अन्य १ सय ८७ जना छन्।
त्यसै गरी कुनै व्यक्तिले बाहिरी जिल्ला मतदातामा नामावलीमा संकलन गर्न, आफ्नो मतदाता नामावलीमा रहेको विवरणको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित अनलाइन प्रणालीबाट आवेदन दिन सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ। यसका साथै विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा अनलाइन प्रणालीमार्फत सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने पनि प्रवक्ता अर्यालले बताउनुभयो।
यसरी निवेदन दिँदा मतदाता नामावली ऐन २०७३ को दफा ९ बमोजिमका प्रमाण विवाह दर्ता वा बसाइँसराइ प्रमाणपत्र पेस गर्नुपर्ने पनि आयोगले सबैलाई सूचना दिएको छ । मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यक पर्दछ । नागरिकतामा उल्लिखित ठेगानाभन्दा फरक ठेगानामा मतदाता नामावली दर्ता गर्नका लागि नागरिकता, बसाइँसराइ वा विवाह दर्ताको प्रमाणपत्रसमेत आयोगको उल्लिखित प्रणालीमा प्रविष्ट गर्नुपर्दछ।
आयोगका अनुसार मतदाता नामावलीमा नाम भएको कुनै मतदाताको मृत्यु भएको भनी एकाघरको परिवारको कुनै सदस्यले मृत्यु दर्ताको प्रमाणपत्रसहित निर्वाचन कार्यालयमा निवेदन दिन पनि सक्नेछ।
त्यस्तै, नागरिकता त्याग गरेको कारण मतदाता नामावलीमा नाम हटाउन आफैं वा एकाघरको परिवारको कुनै सदस्यले निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम रहेका कुनै व्यक्तिउपर कसैले उजुरी दिन चाहेमा आवश्यक प्रमाणसहित सम्बन्धित निर्वाचन कार्यालयमा उजुरी दिने प्रबन्ध पनि मिलाइएको आयोगले जनाएको छ।
प्रतिक्रिया