गहुँ छर्ने बेलामा सधैं मलको अभाव, भारतीय मलको भरमा नेपाली किसान

658
Shares

वीरगन्ज ।

धानपछि अर्को मुख्यबाली गहुँ छर्ने बेला रासायनिक मलका लागि पर्सा जिल्लाका किसानहरु भौंतारिँदै हिँड्नुपर्ने अवस्था उत्पन्न भएको छ। गहुँबालीका लागि किसानहरुले डीएपी, युरिया र पोटासजस्ता रासायनिक मलको आभाव झोल्नुपरेको बताएका छन्।

गहुँ छर्ने समयमा डीएपी साढे दुई किलो, युरिया र पोटास डेढ/डेढ किलोग्राम प्रतिकट्ठाको दरमा न्यूनतम मलको आवश्यकता पर्ने किसानहरुले बताएका छन्। पर्साको पटेर्वासुगौली गाउँपालिका–२ का किसान बिगा महरा चमारका अनुसार गहुँ छर्ने समय भइसकेको र आवश्यकताअनुसारका अन्य सामग्रीहरुको व्यवस्थापन भइसके पनि रासायनिक मलको अभावका कारण काम रोकिएको गुनासो गर्नुभयो।

स्थानीय कृषि सहकारी संस्थामा रासायनिक मल नपाएका कारणले अन्य बजारमा मल खरिदका लागि धाउँदै आएको भए पनि रासायनिक मलको अभाव भएको गुनासो गर्नुभयो। त्यस्तै जिराभवानी गाउँपालिका–३ नौकाटोला निवासी राजकपुर रायले रासायनिक मलको अभावका कारण किसानहरु बिचलित भएको बताउनुभयो। उहाँले किसानसँग रकम हुँदाहुँदै पनि समयमा मल नपाउनुमा तीनै तहका सरकार जिम्मेवार रहेको बताउनुभयो।

देशलाई कृषिप्रधान देश भनिन्छ तर किसानहरूलाई आवश्यकता परेका बेला मल, बिउबिजन उपलब्ध गराउन नसक्नु सरकारले आम नागरिकको हकहितमा काम नगरी व्यक्तिगत स्वार्थका लागि काम गरिरहेको रायले आरोप लगाउनुभयो।
साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री संस्थानले मागबमोजिम मल नदिएका कारण किसानहरुलाई मल उपलब्ध गराउन नसकिएको स्थानीय कृषि सहकारी संस्थाका सञ्चालकहरुले बताएका छन्।

जिराभवानी गाउँपालिका–२ सेढवामा रहेका मारुतीनन्दन कृषि सहकारी संस्थाका सञ्चालक सत्यनारायण साहले कृषि सामग्री संस्थानले गहुँ छर्ने बेला एकपटक मात्र मल पठाएका हुँदा मल अपुग भएको बताउनुभयो । एक लटमा कृषि सामग्री कम्पनीले जिराभवानी गाउँपालिकामा एक हजार बोरा युरिया र ८ सय ३० बोरा डीएपी मात्र दिएको साहले जानकारी दिनुभयो। वडाको भागमा १ सय ६० बोरा डीएपी र १ सय ९० बोरा युरिया आएको र सो मल गएको सातामा वितरण गरेको साहले बताउनुभयो । अब मल कहिले आउने कुनै ठेगान नभएको साहले बताउनुभयो । यसपटक साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले अहिलेसम्म मल नदिएको साहले सुनाउनुभयो।

नेपाली बजारमा रासायनिक मल नपाइएपछि स्थानीय किसान भारतीय बजारबाट मल खरिद गर्न बाध्य भएका छन्। किसानहरुले नेपाली बजारभन्दा महँगो मूल्य तिरेर गुणस्तरहीन रासायनिक मल खरिद गर्नुपरेको गुनासो गरेका छन्। भारतीय बजारमा किसानहरूले साढे तीन हजारमा डीएपी मल खरिद गर्नुपरेको गुनासो छ। त्यसमा पनि गुणस्तरमा शंका लाग्ने गरेको किसानको भनाइ छ।

भारतीय बजारमा पोटास प्रतिबोरा १ हजार ८ सयदेखि ३ हजार ५ सय रुपियाँ रहेको हुँदा सक्कली र नक्कली चिन्न गाह्रो हुने किसानको भनाइ छ। त्यही मल ल्याउँदा पनि सीमामा खटेका दुई देशका सुरक्षाकर्मीबाट गालीगलौज र अभद्र व्यवहार खेप्नुपरेको किसानहरुको भनाइ छ। यद्यपि भारतको सिक्टा, मैनाटाँड, इनरवा र भंगहालगायतका सीमावर्ती बजारमा मल खरिद गर्न नेपाली किसानहरुको भीड बढेको छ।