काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले फागुन १५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने भएको छ । उपकुलपति प्राडा केशरजंग बरालले क्यालेन्डरमा फागुन १५मा स्ववियु निर्वाचन गर्ने उल्लेख भएकोले सोही दिन निर्वाचन गर्ने जानकारी दिनुभयो। उपकुलपति प्राडा बरालले नीति तथा कार्यक्रममा फागुन १५ मा स्ववियु निर्वाचन गर्ने उल्लेख गर्नुभएको थियो।
स्ववियु पदाधिकारीको दुईवर्षे कार्यकाल समाप्त भएसँगै त्रिविले स्ववियु निर्वाचन प्रक्रिया शुरू गर्न लागेको छ । त्रिवि केन्द्रीय निर्वाचन तथा अनुगमन समितिका सदस्य सचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले केही साताभित्र प्रक्रिया शुरू गर्ने जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘मिति तय भइसकेको छ, ६४ दिनभित्र निर्वाचन गरिसक्नुपर्ने भएकोले सोहीअनिसार कार्यक्रम सार्वजनिक गर्नेछौं ।’
दुई वर्षअघि स्थगित भएका उपत्यकाको ४ सहित उपत्यकाका बाहिरका ८ गरी १२ सहित ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धनप्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन हुनेछ । स्थगित भएका र दुईवर्षे कार्यकाल पूरा भएका सबै क्याम्पमा स्ववियु निर्वाचन हुने निर्देशक अधिकारीले बताउनुभयो । उपकुलपति प्राडा बरालले यो वर्ष हुने स्ववियु निर्वाचन सबै क्याम्पसमा सम्पन्न गर्नेगरी तयारी शुरू भइसेको बताउनुभयो।
उपत्यका ४ र उपत्यका बाहिरका ८ सहित देशभरका १२ क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस छन्। यसअघि चैत ५ मा निर्वाचन भएको थियो। उपत्यकाको त्रिचन्द्र, रत्नराज्य, विश्वभाषा र नेपाल कमर्स क्याम्पस गरी ४, उपत्यका बाहिर कास्कीको पोखरा इन्जिनियरिङ, पृथ्वीनारायण, नर्सिङ, वीरजंगको ठाकुरराम, चितवनको चितवन इन्जिनियरिङ र वीरेन्द्र बहुमुखी, महेन्द्रनगरको सिद्धनाथ बहुमुखी र डोटी बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको थियो। प्रदेशगत रूपमा लुम्बिनी र कर्णाली प्रदेशको सबै जिल्लाका आंगिक क्याम्पसमा निर्वाचन भएको थियो ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले स्थगित भएका र अन्य सबै क्याम्पसमा निर्वाचन हुने जानकारी दिनुभयो । नेविसंघको वागी र विद्यार्थी संगठनबीच आन्तरिक द्वन्द्वका कारण केही क्याम्पसमा निर्वाचन स्थगित भएको थियो।
स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका–२०७९ मा चैत ५ गते निर्वाचन हुनुपर्ने थियो । त्यस बेला १२ क्यमपसको स्थगित चुनाव हुन सकेन । स्थगित भएका क्याम्पसमा महिना दिनभित्र निर्वाचन सम्पन्न बाध्यकारी व्यवस्था थियो । तर, क्याम्पस प्रमुखले विद्यार्थी संघ संगठनसँग छलफल गरे पनि सम्भव भएन। अन्तिममा विद्यार्थी संघ, संगठनबीच कुरा नमिलेको कारण १२ आंगिक म्याम्पसमा निर्वाचन हुन सकेको छैन।
क्याम्पस र विद्यार्थी संघ संगठनको कारण देशभरका एकदर्जन क्याम्पस स्ववियुविहीन छ । देशको सबैभन्दा धेरै विद्यार्थी भएको पृथ्वीनारायण क्याम्पसमा समेत निर्वाचन स्थगित भएको छ । गतवर्ष देशभर ५० आंगिक र करिब ३ सय ५० भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । अझै करिब ६ सय ५० क्याम्पसमा निर्वाचन भए नभएको रेकर्ड छैन । निर्देशनालयका अनुसार १५ वर्षपछि गतवर्ष निर्वाचन भएको थियो ।
त्रिविको शैक्षिक क्यालेन्डरमा प्रत्येक २–२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । गतवर्ष चैत ५ मा भएको थियो । यसअघि २०७३ सालमा ६२ मध्य २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।
पछिल्लो १५ वर्षदेखि त्रिविलगायत उपत्यकाका १३ र उपत्यका बाहिरका २३ गरी क्याम्पसमा निर्वाचन हुन सकेको छैन । विसं २०६५ मा निर्वाचन भएको थियो । विसं २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।











प्रतिक्रिया