काठमाडौं ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगमा पक्राउ परी अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति सरकार अनुदार बनेको छ । अड्डासार गर्दा रास्वपाको आन्दोलन छल्ने नाममा रातारात पोखरा लगिएको र लामिछानेको स्वास्थ्य समस्यामा समेत चासो नदेखाएको भन्दै सरकारको अनुदारपनप्रति टिप्पणी भएको हो ।
रविप्रति पछिल्लोपटक सरकार अनुदार बन्दै गएको प्रतिपक्षी दलसँगै सत्तापक्षकै केही नेताहरूले विशेष चासो व्यक्त गरेका छन्। राजनीतिक प्रतिशोधमा आफ्ना सभापतिलाई पक्राउ गरी हिरासतमा राखिएको भन्दै रास्वपा आन्दोलनमा रहेकै बेला नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले समेत सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
‘अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन । तर, राति १२ बजे उठाएर लानु मानव अधिकारविरोधी र अमानवीय काम हो । यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नु हुँदैन’ –कोइरालाले भन्नुभएको छ । सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले मंसिर १९ गते राति चितवनबाट पोखरा लगेको थियो । प्रहरीले सुरक्षाको कारण देखाए पनि कोइरालाले प्रशासनले यसरी उम्कन नपाउने टिप्पणी गर्नुभएको छ ।
त्यसै गरी संविधानविद् डा. भीमार्जुन आचार्यले अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः वर्जित भएको बताउनुभएको छ । उहाँले लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको बताउनुभएको छ ।
यसअघि नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई रविलाई हिरासतमै भेट्न पुग्नुभएको थियो । सो क्रममा डा. भट्टराईले सरकारले नयाँ राजनीतिक शक्तिलाई दबाउने प्रयासस्वरूप लामिछानेलाई अनेकन मुद्दा चलाउन लागेको टिप्पणी गर्नुभएको थियो।
‘जुन राजनीतिक शक्तिहरू उदय भइराखेका छन्, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिका रूपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ।’ रविलाई भेटेपछि भट्टराईले भन्नुभएको थियो– ‘अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वाभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यबद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।’
संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले अरू सहकारी ठग र भ्रष्टाचारीलाई कारबाही नगरी रास्वपा सभापति लामिछानेलाई मात्रै थुनेको टिप्पणी गर्दै आएको छ। हिरासतमा रहेका रविको स्वास्थ्यमा केही समस्याहरूसमेत देखिए पनि सरकार उहाँप्रति अनुदार बनेको राजनीतिक रूपमै टिप्पणीहरू हुन थालेका छन्।
गत १९ गते चितवनबाट पोखरा लाने क्रममा रविलाई रातारात गाडीमा लगिएको थियो। त्यस बेला उहाँलाई उच्च रक्तचापको समस्या भए पनि प्रहरीले मानवीय स्वास्थ्यमा ख्यालै नगरी जबरजस्त रातारात सडकमार्ग हुँदै पोखरा पुर्याएर मानवअधिकार हनन गरेको भन्दै उक्त दलले सरकारविरुद्ध मानवअधिकार आयोगमा उजुरी दिएको छ ।
उजुरीमा लामिछानेको निजी डायरी हिरासतबाटै गायब गरिएको समेत दाबी गरिएको छ । संविधानको धारा १८ र २२ तथा मुलुकी अपराध संहिता २०७४ को दफा १६७ एवं यातना र अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि १९८४ विपरीत रहेको उजुरीमा दाबी गरिएको छ। गत कातिक २ मा पक्राउ गरी अनुसन्धानका क्रममा रहनुभएका लामिछानेलाई सम्बन्धित जिल्ला अदातलको पक्राउ पुर्जीका आधारमा पोखराबाट बुटवल, काठमाडौं, चितवनमा बयान गराएर फेरि पोखरा नै लगिएको छ । उहाँमाथि पर्सा जिल्ला अदालतले समेत पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
५२ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेका लामिछानेलाई कास्की जिल्ला अदालतले आइतबार ४ दिनका लागि म्याद थप गरेको छ। योसँगै अदालतले उहाँको स्वास्थोपचारका लागि आदेशसमेत दिएको छ।
अदालतले भनेको छ, ‘प्रतिवादीहरू रवि लामिछाने र छविलाल जोशीको उच्च रक्तचापको समस्या रहेको भन्ने देखिएको हुँदा चिकित्सकबाट जाँच तथा आवश्यक उपचार गराई उपचारसँग सम्बन्धित कागजातको प्रतिलिपि यस अदालतमा पेस गर्नू र अनुसन्धानका क्रममा हिरासतमा राख्नका लागि म्याद थप गरिएका व्यक्तिहरूको मानवअधिकारको उल्लंघन हुने कुनै कार्य नगर्नू, नगराउनू भनी जिल्ला प्रहरी कार्यालय कास्कीलाई लेखी पठाउनू।’
गत १८ मंसिरमा लामिछानेको रक्तचाप १५०/१०० रहेको सो दलका सांसद हरि ढकालले दाबी गर्नुभएको छ। उहाँले लेख्नुभएको छ– ‘म साक्षी छु, भरतपुर अस्पतालका मे.सु. डा. कृष्ण पौडेलज्यूले मंसिर १८ गते बिहान जाँच गर्दा रवि लामिछानेको ब्लडप्रेसर १५०/१०० थियो । पछिल्लो समय पोखरामा समेत उहाँको स्वास्थ्य जाँच गर्दा प्रेसर नघटेको, स्वास्थ्य समस्या रहेको डाक्टरको टोलीले जानकारी दिएका छन्।’
ढकालले लामिछानेको स्वास्थ्यमा तलमाथि भए सरकारले थेग्न सक्ला भन्दै सरकारप्रति खबरदारी गर्नुभएको छ।
अपवादबाहेक नागरिकलाई मध्यरातमा पक्रने, बयान लिने, ओसारपसार गर्ने सबै काम कानुनतः वर्जित छ । लामिछानेलाई मध्यरातमा ठाउँ स्थानान्तर गर्ने कार्यले विधिको शासनलाई पुनः लज्जित पारेको छ ।

अदालतको न्यायिक प्रक्रियामा कुनै टिप्पणी गर्न हुँदैन । तर, राति १२ बजे उठाएर लानु मानवअधिकार विरोधी र अमानवीय काम हो । यो रविजीको मात्र कुरा होइन, कसैलाई पनि यस्तो गर्नुहुँदैन ।

अहिले उहाँलाई विभिन्न ढंगले दुःख दिने काम भइरहेको छ । यो अस्वाभाविक, अन्यायपूर्ण र अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ।

म साक्षी छु, भरतपुर अस्पतालका मे.सु. डा. कृष्ण पौडेलज्यूले मंसिर १८ गते बिहान जाँच गर्दा रवि लामिछानेको ब्लडप्रेसर १५०/१०० थियो । पछिल्लो समय पोखरामा समेत उहाँको स्वास्थ्य जाँच गर्दा प्रेसर नघटेको, स्वास्थ्य समस्या रहेको डाक्टरको टोलीले जानकारी दिएका छन् ।












प्रतिक्रिया