ललितपुर।
ललितपुर महानगरपालिका–१८ भञ्ज्याङस्थित श्रीवालकुमारी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा किशोर कुँवर निर्वाचित भएका छन् । शनिबार सम्पन्न अधिवेशनले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्ष,सहसचिव र सह कोषाध्यक्षमा क्रमशः उषा केसी, सन्जी थापा,चन्दु थापा,अन्जु कुँवर र सन्जु कुँवर निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा मिरा विष्ट,अस्मिता बोगटी, रमा विष्ट, अम्बिका त्रिपाठी, धनश्याम थापामगर, सुदर्शन कुँवर, दिलीपकुमार केसी, कृष्णहरि खड्का र मदन थापा निर्वाचित भएका छन् ।
बागमती प्रदेश श्रम,रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले प्रदेश सरकारले सामुदायिक वनलाई पर्यापर्यटन क्षेत्रको रुपमा विकास गर्न नयाँ नीति अघि सारेको बताए । उनले ललितपुर महानगरपालिका क्षेत्रकै सबैभन्दा ठुलो वनक्षेत्रलाई पर्यापर्यटनको रुपमा विकास गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने–चालु आर्थिक वर्षमा १० लाख रुपियाँ बजेट विनियोजन भएको छ । यसलाई संसद विकास कोषबाट केही रकम थप गरेर ४० लाख रुपियाँसम्म पु¥याउने योजना बनाएका छौँ ।
कार्यक्रममा ललितपुर महानगरपालिका–१८का वडा अध्यक्ष दामोदर खड्काले नव निर्वाचित कार्यसमितिलाई बधाई दिँदै कार्यकालयमा नयाँ नयाँ योजना ल्याएर कार्यान्व्यन गर्न आग्रह गरे । उनले यस क्षेत्रलाई सुन्दर र हरियाली वन र पर्यापर्यटनको रुपमा विकास गर्न वडाले सबै प्रकारकोे सहयोग गर्न तयार रहेको बताए । मच्छिन्द्रनाथ सव डिभिजन वन कार्यालयका प्रमुख दुर्गा कार्कीले यस वन समूहले गरेको सबै योजना सम्झन लायक भएको उल्लेख गर्दै आगामी नयाँ कार्यकालमा थप नयाँ योजनासहित अघि बढ्न आग्रह गरिन् ।
अन्य वन समूहको तुलनामा बढी पारदर्शी भएको यस वन समूहलाई वन कार्यालयले आवश्यक पर्ने सबै प्रकारको सहयोग गर्न तयार रहेको बताइन् । अधिवेशनमा कोषाध्यक्ष धनश्याम थापामगरले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष कुँवरले सबैको सहयोगको कारण वन समूहले धेरै काम गर्न सफल भएको बताए । आगामी दिनमा पर्यापर्यटन क्षेत्र विकास गर्न थप योजना ल्याउने बताए । त्यसको लागि संघीय, प्रदेश र स्थानीय सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया