एथलेटिक्समा लालीगुराँस अब्बल


काठमाडौं ।

लालीगुराँस नेसनल एकेडेमी तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा टिम च्याम्पियन बनेको छ । लालीगुराँस सर्वाधिक १९ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो। लालीगुराँसले पहिलो दिन ५, दोश्रो दिन ७ र अन्तिम दिन ७ स्वर्ण जित्दै स्वर्ण संख्या १९ पुर्‍याउन सफल भयो। लालीगुराँसले थप ४ रजत र १ कांस्य पनि हात पार्‍यो ।

तार्केश्वर नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा हिमरश्मि हाइ स्कुल ५ स्वर्ण, १० रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कौशलले १ स्वर्ण, २ रजत र ५ कांस्य प्राप्त गर्‍यो ।

विभिन्न १४ विद्यालयको सहभागिता रहेको एथलेटिक्समा बाँकी १ स्वर्ण श्रृजना ज्ञान सागरले जित्यो। श्रृजना ज्ञान सागरले १ रजत र ३ कांस्य पनि हासिल गर्‍यो । २६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।
हिमरश्मि र ल्यान्डमार्क उपाधिनजिक
हिमरश्मि र ल्यान्डमार्क एकेडेमी छात्रा बास्केटबलमा फाइनलमा प्रवेश गरेका छन् । मनमैजुस्थित लालीगुराँसको कोर्टमा भएको सेमिफाइनलमा हिमरश्मिले लालीगुराँसलाई १९–१३ ले पराजित गर्‍यो। हिमश्मिको जितमा सिर्जना तामाङले ६ अंक योगदान गरिन्। साजन खत्रीको ७ अंक सहयोगमा ल्यान्डमार्कले मानसिंहलाई १८–१५ ले हरायो।