काठमाडौं ।
विश्वसम्पदा क्षेत्रभित्र रहेको हनुमानढोका प्रहरी कार्यालयको भवन यथाशीघ्र भत्काइने पुरातत्व विभागले निर्णय गरेको छ। सो निर्णय कार्यान्वयन गर्न सम्पूर्ण निकायसँग समन्वय गर्न निर्देशन दिएको छ।
पुरातत्व विभागको मंगलवार बसेको बैठकले पुरातत्व विभाग विश्वसम्पदा शाखाले ३ बुँदे निर्देशन दिँदै सो भवन मापदण्डविपरीत रहेको र भूकम्पले जीर्णसमेत रहेकाले भत्काउन पत्राचार गरेको हो।
प्रहरी परिसर काठमाडौंको स्वामित्वमा रहेको सो भवन ३ रोपनी क्षेत्रफलमा फैलिएको छ। सानाठूला गरी ५ वटा संरचना रहेको भवन इँट्टा पर्खालले घेरिएको र सो पर्खालसमेत जीर्ण रहेको उल्लेख छ । मुख्य भवन भूकम्पले क्षतिग्रस्त अवस्थामा रहे पनि हाल केही प्रहरी सो भवनमै बसिरहेका छन्।
पत्रमा नेपाल प्रहरीको जीर्ण भवन रहेको स्थानमा ऐतिहासिक हनुमानढोका दरबार परिसरअन्तर्गतको क्षेत्रमा पर्ने सो भवनको ५ वटा संरचनामध्ये उत्तरपूर्वी भागमा रहेको भवन जीर्ण अवस्थामा रहेको पत्रमा उल्लेख छ। विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले धराप सो भवन जुनसुकै बेला ढल्न सक्ने भएकाले भत्काउनुपर्ने निर्णय भएको बताउनुभयो।
विभागको टोलीले सो भवन निरीक्षण गरी गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । दरबारक्षेत्रमा रहेको कुरूप भवन तत्काल व्यवस्थापन गर्न सरोकारवाला निकायलाई आग्रह गरेको उहाँको भनाइ थियो। काठमाडौं महानगरपालिकाले खरिद गर्ने तयारीमा रहेको भवनको विषयमा हालसम्म कुनै निर्णय भएको छैन।
सम्पदा अभियन्ता यादवलाल कायस्थलगायत सम्पदाप्रेमीले भवन भत्काउन आग्रह गर्दै विभाग र हनुमानढोका दरबार हेरचाह अड्डा कार्यालयलाई पत्र पठाएको थियो। लगातार ताकेता गरेपछि विभागले अभियन्ता कायस्थलाई बिहीबार विवरण उपलब्ध गराएको थियो।
सोही विवरणका आधारमा सो भवन भत्काउने विषयमा छलफल चलाउने कायस्थले बताउनुभयो । उहाँले भन्नुभभयो– ‘विश्वसम्पदा सूचीमा रहेको दरबारक्षेत्रमा कुरूप देखिएको सो भवन तत्काल भत्काउनैपर्छ।’
उहाँले विभागले दिएको पत्रलाई कार्यान्वयन गर्न सबै अभियन्ता एकजुट हुने बताउनुभयो । विभागले पत्रमार्फत भूकम्पलगायत कारणबाट जीर्ण एवं जोखिमपूर्ण अवस्थामा रहेको उक्त संरचना के कसरी कुन निकायसँग समन्वय गरी भत्काउन वा अन्य कुनै तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा यथाशीघ्र राय उपलब्ध गराउन अनुरोध गरेको छ।
अभियन्ताले मंसिर १३ गते अनुमानढोका कार्यालयलाई पत्र पठाएको थियो । सो पत्रको जवाफ एक साताभित्रै उपलब्ध गराएको हो । यसअघि हनुमानढोका हेरचाह अड्डाले गएको पुस २४ गते विभागलाई निरीक्षणसहितको पत्र पठाएर हनुमानढोका दरबार संरक्षित स्मारक क्षेत्रभित्र रहेको नेपाल प्रहरी परिसर भवन व्यवस्थापन गर्न आग्रह गरेको थियो । त्यसलगत्तै पुरातत्व विभागले माघ २८ गते जिल्ला प्रहरी परिसरलाई पत्र पठाएको थियो । पत्रमा सम्पदा संरक्षण महाअभियानलगायत संघसंस्थाले भवन भत्काउनुपर्ने मागसहित विभागमा निवेदन दिएका थिए ।
‘संरक्षित स्मारक क्षेत्रका लागि लागू गरिएको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्डबमोजिम नरहेको सो जीर्ण एवं जोखिमयुक्त भवन, के कसरी कुन निकायसँग समन्वय गरी कुन मोडालिटीमा भत्काउने विषयमा यथाशीघ्र राय दिन परिसरलाई आग्रह गरेको थियो ।
सो भवन भत्काएर सम्पदामैत्री बनाउने र उक्त भवनमा पर्यटन प्रहरीको कार्यालय राख्न प्रस्ताव गर्दै सम्पदाप्रेमीले जनस्तरबाटै सो भवन भत्काएर पुनर्निर्माण गर्न माग गरेका छन् । २०७२ सालअघि हनुमानढोका दरबार परिसरभित्र काठमाडौं जिल्ला प्रहरी कार्यालय थियो । सो कार्यालयलाई हनुमानढोका प्रहरी कार्यालय भन्ने गरिन्थ्यो ।
अभियन्ताले प्रहरी प्रमुख वसन्त कुँवरलाई जीर्ण भवनको अवलोकन गराइसकेको छ। भवन बराबरको जग्गा सट्टापट्टा गर्नुपर्ने प्रहरीको माग छ। महाअभियानका अभियन्ताले सो भवन नगर प्रहरीबल र नेपाल प्रहरीलगायत सरकारी निकायले नभई जनताले नै भत्काउनुपर्नेमा जोड दिएका छन्।
२०१५ सालमा निर्माण भएको सो भवन विश्व सम्पदाको मापदण्डविपरीत छ। विश्व सम्पदा क्षेत्रभित्र सांस्कृतिक, धार्मिक र पुरातात्विक एवं ऐतिहासिक संरचनाहरूले भरिपूर्ण क्षेत्रमा कुरूप भवनले विश्वभरका पर्यटक गिज्याइरहेको महाअभियानको आरोप छ।
२०७२ सालको महाभूकम्पमा परी यो भवन जीर्ण र मानव बस्न लायकको नभएको भनी रेड स्टिकर लगाएको थियो। रेड स्टिकर लगाएको सो भवनमा बस्नै हुँदैन, तैपनि प्रहरीहरू बसिरहेका छन्।
सम्पदा महाअभियानका अभियन्ताले भवन भत्काउने विषयमा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कामपा र पुरातत्व विभागलगायतका निकायले कुनै चासो नदेखाएको आरोप लगाएका छन्।
प्रतिक्रिया