प्रथम राष्ट्रिय बाँस सम्मेलन: उच्च पदस्थहरुलाई बाँस सामाग्री उपहारको तयारी

1.5k
Shares

खोटाङ

बाँसको उपयोगितालाई व्यवहारमा कार्यान्वयन गर्न-गराउन खोटाङमा प्रथम बाँस सम्मेलनको तयारी गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विभिन्न निकायको सहकार्यमा आगामी फागुन–१५ देखि १७ गतेसम्म ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’को आयोजना गर्ने तयारी गरेको हो ।

यसअघिबाटै बाँसबाट बन्ने घरेलु सागम्रीहरुको प्रवद्र्धन गर्दै आएको नगरपालिकाले ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ बाँस सम्मेलन आयोजन गर्न लागेको हो । दिक्तेलबजारमा हुने राष्ट्रिय बाँस सम्मेलनका लागि नगरपालिकाका वन, वातावरण, फोहरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर १० पाथेकाका वडाध्यक्ष मुगाधन राईको संयोजकत्वमा स्थानीय समिति समेत गठन गरिएको छ ।

सरकारलाई स्थानीय सामाग्री प्रयोग गर्ने नीति व्यवहारमा कार्यान्वयन गर्न-गराउन खबरदारी गर्ने उद्देश्यले उक्त सम्मेलनको आयोजना गर्ने नगरपालिकाले उल्लेख गरेको छ । सम्मेलनको अवसर पारेर देशका उच्च पदस्थ व्यक्तिहरुलाई बाँसको कुर्सी उपहार दिने कार्यपालिका बैठकले निर्णय गरिसकेको मेयर तीर्थराज भट्टराईले बताए । राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुखलाई बाँस सामाग्री उपहार दिने तयारी गरिएको मेयर भट्टराईको भनाई छ ।

प्रत्येक वडाबाट बाँससँग काम गर्ने १५ जना विज्ञ व्यक्तिहरु वडाले छनोट गर्ने र नगरबाट प्रोत्साहित गरेर छनोट भएका व्यक्तिहरुले सम्मेलनमा प्रदर्शनी गर्ने ब्यवस्था गरिएको बताईएको छ । बाँस सम्मेलनमा उपयोगविहीन बाँसको संरक्षण, व्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता विकास गरी पर्यावरण संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा वृद्धि गर्दै समृद्ध नगरपालिका र राष्ट्र बनाउने उद्देश्य राखिएको नगर उपप्रमुख विशन राईले जनाए ।

नगरपालिकाले बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्री तथा उद्योगलाई प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रम ल्याएपछि बाँसका सामग्री उत्पादन गर्ने उद्योग र उपभौक्ताहरुको वृद्धि हुँदै गएको छ । बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ ।

बाँसको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष के.पि. भट्टराईको पहलमा गत जेठमा काठमाडौँमा भएको सरोकारवाला व्यक्तिहरुको भेलाले दिक्तेलबजारमा पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन गर्ने निर्णय गरेको थियो । सम्मलेलनका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ ।