स्याङ्जा।
छेवैमा आँधीखोला निरन्तर बगीरहेता पनि भीरकोट नगरपालिका वडा नं. ६ को सिमलचौर फाँट सिंचाइको अभावमा सधै तिर्खाएको देखिन्छ । भीरकोटको उब्जाउ क्षेत्र सिमलचौर र एकुवारमा सिंचाइको लागि २ वटा नहर भएपनि माथिल्लो नहरको संरचना जीर्ण भएको छ भने तल्लो नहरमा बाढीले पूर्ण क्षती पु¥याएको छ । खोलाको किनारमै भएपनि आँधिखोलाको पानी हेरेर आकाशे भेलपानीको भरमा सिंचाई गर्नुपर्ने बाध्यतामा यहाँका किसानहरु रहेका छन् । अब भने कृषि उत्पादन बढाउनका लागि नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेको खेतमा भूमिगत सिँचाइ प्रणालीको माध्यमबाट सिँचाइ पु¥याउने योजना अन्तिम चरणमा पुगेको छ ।
यस फाँटमा नहरमार्फत आँधीखोलाको पानी ल्याउन झन झन जटिल हुदैं गएको छ । आँधीखोलाको सतह गहिरिदैं जाँदा नहरमार्फत पानी ल्याउन असंभव जस्तै बनेको हो । अनियन्त्रित नदी उत्खननले गर्दा आँधीखोलाको सतह करिब ३ मिटर गहिरिएको छ । भीरकोट नगरपालिकाले व्यवसायिक रुपमा नदी उत्खनन गर्न थालेपछि खोला झनै गहिरिएको जानाकारहरु बताउँछन् । यसले गर्दा सिंचाई प्रणालीमा निरन्तर अवरोध भैरहेको छ । पुरानो नहर पुनःनिर्माणका लागि करिब ३० करोड रुपैयाँ लाग्ने भएकाले भीरकोट नगरपालिकाका वर्तमान नगरप्रमुख गोविन्द कुमार कर्माचार्य, निवर्तमान नगर प्रमुख छायाराम खनाल र प्रदेश सांसद भोजराज अर्यालको पहलमा वैकल्पिक सिंचाई प्रणालीको रुपमा भूमिगत पानीको उपयोग गर्न लागिएको हो ।
स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकामा भूमिगत पानीको उपयोग गर्न २०७८ मा निर्माण सुरु गरिएको नयाँ प्रविधिको सिंचाइ योजना अहिले अन्तिम चरणमा पुगेको छ । वडा नं ६ मा कार्यान्वयन भैरहेको एकुवार बिस्रीखोला जैसीडाँडा नयाँ प्रविधी सिंचाई योजनाले सिमलचौर र एकुवार क्षेत्रका १५ हेक्टर जमिनलाई सिंचाइ गर्ने लक्ष्यका राखिएको छ । तीन वर्षअघि सुरु भएको यो योजनाको अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भएको छ । खोलाको छेउमै रहेर पनि सिंचाइ हुन नसकेको यो फाँट अब भने सिञ्चित हुने भएको छ । उक्त प्रक्रियाबाट सिंचाइ हुन सके कृषि बालीमा उत्पादन बढ्ने आशा पलाएको स्थानीय किसान लोकप्रसाद कोइराला बताउछन् । यो योजनामा सिमलचौरमा ६ इन्चको फलामको पाइप ७२ मिटर गहिरो गाडेर प्रति सेकेन्ड ७ लिटर पानी निकालिएको छ । एकुवारमा ८ इन्चको पाइप ६० मिटर गहिरो गाडेर प्रति सेकेन्ड २५ लिटर पानी निकाल्ने प्रविधि प्रयोग गरिएको छ । दुबै स्थानमा भूमिगत पानी तान्न विद्युतीय मोटरको व्यवस्था गरिएको छ ।
योजनाका साइट इन्चार्ज शिवराज थापाका अनुसार योजना कार्यान्वयनमा हालसम्म करिब ६० लाख रुपैयाँ खर्च भइसकेको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख किरण आचार्यका अनुसार स्याङ्जामा नयाँ प्रविधिमा आधारित भूमिगत सिंचाइ प्रणाली पहिलो पटक कार्यान्वयन गरिएको हो । उनका अनुसार योजनाको करिब ९० प्रतिशत काम सम्पन्न गरिएको छ । प्राविधिक परीक्षण पश्चात् कृषकहरुले सिंचाई प्रयोजनका लागि पानी प्रयोग गर्न पाउने उनले बताए । यस योजनाबाट हिउँदे बाली र नगदेबालीको उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ ।
बिस्रीखोला–जैसिडाँडा नयाँ प्रविधि सिंचाइ योजनाका अध्यक्ष सूर्यप्रसाद कोइरालाले खेत र बारी दुबैमा सिंचाइ हुने भएकाले किसानहरु खुशी भएको बताए। तर पनि स्थानीय किसानहरुले कृषि उत्पादनमा अपेक्षित वृद्धि गर्न नहर नै संचालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन् । गत निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ का उम्मेदवार धनराज गुरुङ र पद्मा अर्यालले नहर निर्माणलाई चुनावी मुद्दा बनाएको भएपनि हालसम्म कुनै काम भएको छैन । निर्वाचन जितेर कानुन मन्त्री भैसकेका गुरुङले आफ्नो कार्यकालभित्र नहर निर्माण गरिछाड्ने प्रतिबद्धता जनाएका थिए थए । तर, निर्वाचन जितेपछी गुरुङलाई देख्न समेत नपाएको स्थानीयको गुनासो छ ।
गण्डकी प्रदेशका भूमिगत, जलश्रोत तथा सिंचाइ कार्यालयका सिनियर इन्जिनियर मुकेश विकले भूमिगत सिँचाइ योजनाको स्याङ्जा जिल्लामा पनि माग अत्यधिक रहेको तर बजेट भने न्यून भएको बताए । इआरटि प्रविधिबाट अध्ययन गर्दा स्याङ्जाका खोलाको छेउछाउमा बाह्रै महिना हुने गरी पानी निकाल्न संभव रहेको विकको भनाइ छ । जिल्लामा नहर, कुलो र नदी रहे पनि किसानको खेतसम्म पानी पुग्ने अवस्था नरहेको हुँदा १२ महिना भूमिगत सिँचाइबाट सिञ्चित गरिने हुँदा यसको माग बढेको हो ।
यो परीक्षण सफल भएपछी भीरकोटकै वडा नं. ५ पकान फाँटको टारीखेतमा र वडा नं. ४ को गैह्राथोकमा पनि यस्तै खाले भूमिगत सिंचाइको नयाँ योजना संचालनमा आएको छ । भीरकोट ५ का दामोदर तिवाारीले यस प्रणालीबाट किसानलाई धेरै राहत पुग्ने विश्वास व्यक्त गरे । नयाँ र क्रमागत गरी हालै स्याङ्जाको ७ वटा स्थानमा यस्ता खाले योजना संचालनमा रहेका छन् । यहाँका पुरानो योजनाअन्तर्गत पम्पको निर्माण, विद्युतीकरण र वितरण प्रणालीको काम शुरु भएको भूमिगत, जलश्रोत तथा सिंचाइ कार्यालयले जनाएको छ । त्यस्तै भूमिगत सिँचाइ डिभिजन कार्यालयले स्याङ्जाको टिकाजामा प्रदेशकै अग्लो स्थानमा पानी निकाल्न सफल भएको छ ।
प्रतिक्रिया