लालीगुराँस र नर्थ भ्यालीको विजयी सुरुआत


काठमाडौं ।

लालीगुराँस नेसनल एकेडेमी र नर्थ भ्यालीले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत जुनियर छात्र बास्केटबलमा विजयी सुरुआत गरेका छन्। मनमैजुस्थित घरेलु कोर्टमा लालीगुराँसले बालकुञ्जलाई २४–११ ले पराजित गर्‍यो ।

लालीगुराँसको जितमा प्रजेश महर्जनले १० अंक योगदान गरे । डेविड खड्काको ६ अंक सहयोगमा नर्थ भ्यालीले तेजस्वीलाई १४–१० ले हरायो। छात्र बास्केटबलमै कौशलले मेघा पब्लिकलाई २०–९, जीवन ज्योतिले एन्जल्सलाई १८–१२, रोजमेरीले गुरुकुललाई ३०–२२ र मानसिंह धर्मले गिनिज पब्लिकलाई १६–१४ ले पाखा लगाए।

कौशलका अन्शु खत्रीले ५, जीवन ज्योतिका अमोह कार्कीले ७, रोजमेरीका दियोन भण्डारीले १८ र मानसिंहका आधित्य तामाङले ६ स्कोर गरे। छात्रामा प्रारम्भ वर्ल्ड स्कुलले जिनियसलाई २२–१२, पद्मचक्रले रोजमेरीलाई १६–११, जीवन ज्योतिले कौशललाई १९–१३ र तेजस्वीले नर्थ भ्यालीलाई २३–१२ ले पन्छाए।

फुटबल :

छात्र फुटबलमा प्रारम्भले एन्जल्स हार्टलाई ६–०, पद्मचक्रले सिद्धार्थ मोडल एकेडेमीलाई २–०, ल्यान्डमार्क एकेडेमीले मेघा पब्लिकलाई २–०, सेक्रेड हार्टले ग्राम सेवालाई १–०, कालिका सदनले पृथ्वी नारायणलाई सडन डेथ, कौशलले लालीगुराँसलाई २–० र मानसिंहले विराट सनातनलाई ५–२ गोलले पराजित गरे ।
उसु :
उसुको छात्र छाङ छ्वानमा किन्डर गार्टेनका सोहन तामाङ पहिलो, किन्डर गार्टेनकै विजन रोक्का दोश्रो तथा हिमरश्मिका आरोग्य अधिकारी तेश्रो भए । सो स्पर्धाको छात्रामा किन्डर गार्टेनकी रियाना ग्लान पहिलो भइन् ।

एथलेटिक्समा हरिश र भगवतीलाई स्वर्ण
हिमरश्मिका हरिशचन्द्र तामाङ र लालीगुराँस नेसनल एकेडेमीकी भगवती खड्काले तेश्रो मेयर रनिङ सिल्ड खेलकुदअन्तर्गत एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । ८ सय मिटर दौडको छात्रमा हरिश र छात्रामा भगवती पहिलो भएका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा भएको प्रतिस्पर्धामा हरिशले निर्धारित दूरी २ मिनेट १५.१ सेकेन्डमा पूरा गरे । लालीगुराँसका सुदिप पाण्डे दोश्रो तथा पृथ्वी नारायणका मनोजकुमार सिंह तेश्रो भए ।

भगवतीले दौड पूरा गर्न २ मिनेट ३५.७ सेकेन्ड समय खर्चिन् । ल्यान्डमार्ककी सगुनी देवकोटा दोश्रो र पृथ्वी नारायणकी सपना पण्डित तेश्रो स्थानमा रहे एथलेटिक्सको पहिलो दिन ६ स्पर्धामा प्रतिस्पर्धा भएकोमा बाँकी ४ स्वर्ण लालीगुराँसले जित्दै स्वर्ण संख्या ५ पुर्‍यायो ।