डोटी ।
सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश विद्यालय बाढी, पहिरो, आगलागी, चट्याङ जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्।
यहाँका नौ जिल्लामा रहेका विद्यालयहरु जंगल, खोलाकिनार, भिरालो स्थानमा निर्माण गरिएकाले विद्यार्थी र शिक्षकहरुको सुरक्षामा पनि गम्भीर चुनौती देखिएको स्थानीयबासी बताउँछन्।
पछिल्लो समय यसै गरी निर्माण गरिएका विद्यालयहरुमा प्राकृतिक प्रकोप एवं विपद्ले दुर्घटना हुने गरेको पाइएको छ। कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा रहेको ग्वाँसी आधारभूत विद्यालय यसको ज्वलन्त उदाहरण हो । सल्लाघारीको बीचमा रहेको यो विद्यालय चट्याङ, आगलागी र हावाहुरीका कारण जोखिममा छ।
ठूलो वर्षा हुँदा, हावाहुरी चल्दा सल्लाका रुख ढलेर विद्यालयमा ठूलो क्षति हुनसक्ने त्रासमा शिक्षक विद्यार्थीलाई चिन्तित बनाउने गरेको छ । अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गबाट करिब १ सय मिटर तल सजिलै देख्न सकिने स्थानमा रहे पनि अझै सरोकारवालाको ध्यान यसतर्फ पुग्न नसकेको स्थानीयवासी दीर्घ सापकोटाले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिले बारम्बार जोखिम न्यूनीकरणका लागि अनुरोध गरे पनि सम्बन्धित निकायले अहिलेसम्म कुनै सुनुवाइ नगरेको र चट्याङ र हावाहुरीले गर्दा विद्यालयमा विद्यार्थीलाई पढ्न र पढाउन त्रासदिपूर्ण वातावरण रहेको विद्यालयका प्रधानाध्यापक इन्द्रराज भण्डारीले बताउनुभयो । ‘विद्यालयलाई पूरै सल्लाका रुखले ढाकेको छ । जति बेला पनि जोखिम हुनसक्ने अवस्था छ । जोखिम हटाउन छिटो पहल नभए ठूलो दुर्घटना हुने डर छ।’ –उहाँले भन्नुभयो ।
सल्लाघारीको बीच जंगलमा विद्यालय भएका कारण चट्याङ र रुख ढल्ने डरले छोराछोरीलाई विद्यालय पठाउन र बालबालिकाको सुरक्षाप्रति चिन्ता हुने गरेको अर्का स्थानीयवासी गणेश पुनमगरले बताउनुभयो । ग्वाँसी आधारभूत विद्यालय मात्र होइन, सुदूरपश्चिमका धेरै पहाडी जिल्लाका विद्यालयहरू प्राकृतिक प्रकोपका कारण जोखिममा छन् ।
डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी लगायतका धेरै विद्यालय बाढी, पहिरो, जंगलको आगो र चट्याङबाट प्रभावित हुने अवस्थामा छन् । विशेषज्ञहरुले जोखिममा रहेका विद्यालयलाई सुरक्षित स्थानमा सार्न, संरचनात्मक सुधार गर्न र आपत्कालीन पूर्वतयारी कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेको बताउँदै आएका छन् । प्राकृतिक जोखिमको अवस्थामा सरकारले प्राथमिकताका साथ योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उहाँहरुको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका स्थानीय प्रशासनले प्राकृतिक जोखिमबाट जोगिनका लागि योजना बनाएका भए पनि स्रोतसाधन अभावका कारण समस्या जस्ताकोतस्तै रहेको छ ।














प्रतिक्रिया