ममता काफ्ले प्रकरण : नरेशले नै हत्या गरेको अमेरिकी प्रहरीको निष्कर्ष

47.85k
Shares

काठमाडौं ।

अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको हत्या श्रीमान नरेश भट्टले नै गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

गत जुलाईदेखि बेपत्ता काफ्लेको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले नरेशविरुद्ध श्रीमतीको हत्या गरेर शव लुकाएको मुद्दा चलाइएको हो ।

मानसास पार्कका प्रहरी प्रमुख मारियो लुगोले स्थानीय समय अनुसार सोमबार साँझ पत्रकार सम्मेलन गर्दै ममताको घरमा भेटिएको डीनएन रिपोर्ट सार्वजनिक गरेका छन् । उनका अनुसार भट्टको सुत्ने कोठामा भेटिएको रगत ममताको नै भएको र जुलाई २९ मा नै उनको हत्या भएको प्रमाण पाइएको खुलेको  सीएनएनकाे समाचारमा उल्लेख छ ।

यसअघि अदालतमा पेस गरिएको तस्वीरमा कोठाभित्रको कार्पेट र बाथरुममा रगतका टाटा देखिएका थिए । नरेश भूतपूर्व अमेरिकी सैनिक हुन् । उनलाई मंगलबार अदालतमा पेस गरिने र यही समयमा उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

ममताको हत्या भएको पुष्टि भए पनि उनको शव भने अहिलेसम्म भेटिएको छैन । शवको खोजी जारी रहेको तर नभेटिए पनि अनुसन्धानमा असर नपर्ने लुगोले बताएका छन् । नरेश हाल अनुसन्धानका लागि प्रहरी हिरासतमै छन् ।