काठमाडौं ।
नेपाल वायुसेवा निगम सञ्चालक समितिको लापरबाहीका कारण निगमलाई करोडौं घाटा हुने भएको छ। वायु सेवा निगमको नाइन एन–एकेडब्ल्यू ३२० जहाजको सिचेक गराउने प्रक्रिया चाल्न विलम्ब गर्दा दैनिक लाखौँ घाटा हुने भएको हो।
प्रत्येक दुई वर्षमा जहाजको सिचेक गराउनुपर्ने प्रावधान भए पनि सञ्चालक समितिको निर्देशनमा विलम्ब गरेको पाइएको छ।
निगमका प्रवक्ता इन्जिनियर मनोजकुमार साहले नाइन एन–एकेडब्ल्यू ३२० को सिचेक सिचेक गर्ने समय मंसिर २० गते सकिने बताउनुभयो।
उहाँले ४५ र २० दिनको बोलकबोल गर्दा पनि कुनै कम्पनी नआएपछि फेरि ५ दिनको बोलकबोल गरेको बताउनुभयो । उहाँले भनेको जस्तो बोलकबोल गर्दा पनि कुनै कम्पनीले सिचेक गर्न नआएको विषय नै शंकास्पद देखिएको छ। यतिका निजी क्षेत्रका जहाजले सिचेक गर्ने कम्पनी पाउने तर सरकारी कम्पनीको जहाजको सिचेक गर्ने कम्पनी नपाउने भन्ने नहुने जानकारहरु बताउँछन्। निगम स्रोतले बोलकबोलमा विलम्ब गर्दा अन्तिम समयमा कमिसन लिएर सिचेक गर्न सञ्चालक समिति लागेको आरोप छ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायत अन्य सदस्यहरु नियुक्त गरेदेखि नै व्यवस्थापन समिति विवादमा पर्दै आएको छ। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालको आदेशमा मन्त्री आलेले सदस्यहरु नियुक्त गर्नुभएको बुझिएको छ।
अध्यक्ष अधिकारीले यस अगाडि पनि अन्तिम समयमा कमिसन लिएर जहाज सिचेक गर्न पठाएको स्रोतले जनाएको छ।
दैनिक जहाज एक दिन नउड्दा सरदर १ करोड १५ लाख घाटा हुन्छ। सिचेक हरेक दुईदुई वर्षमा गर्नुपर्ने थाहा हुँदाहुँदै पनि विलम्ब गर्नु आर्थिक कमिसन नै प्रमुख कारण रहेको पाइएको छ।
यसपटक समय सकिन तीन दिन बाँकी रहँदा सिचेक गर्ने कम्पनी नपाउनु पनि आर्थिक कमिसन नै प्रमुख रहेको देखिएको छ । यसरी जहाज नउडाउँदा निजी सेवा प्रदायकलाई पनि फाइदा हुन्छ । त्यो फाइदा कमिसनको रुपमा ग्रहण गर्ने, भएन भने अन्तिम समयमा आफूले कमिसन लिने ठाउँमा सिचेक गर्न लगाउने दाउमा व्यवस्थापन पक्ष रहेको पाइएको छ ।
राजनीतिक दलले कमिसन लिएर सञ्चालक नियुक्त गर्दा ६३ वर्षे इतिहास बोकेको देशको पहिलो हवाई सेवा प्रदायक संस्था आर्थिक समस्याले उठ्न नसक्ने स्थितिमा पुगेको छ । नेपाल वायुसेवा निगमभन्दा दुई वर्षपछि स्थापना भएकोे थाई एयरवेजसँग अहिले ६१ उडानका लागि विमान छन् । तर, नेपाल वायुसेवाले भएका विमानलाई समेत उडानमा उपयोग गर्न सकेको पाइँदैन ।
कतार एयरलाइन्स स्थापना भएकोे २८ वर्ष मात्रै भएको छ।
निगमभन्दा धेरै पछि सुरु भएको यो एयरलाइन्स अन्तर्राष्ट्रिय रुपमा चर्चित छ । निगमले लामो समयदेखि नोक्सानी व्यहोर्दै आएको छ । सरकारले प्रत्येक वर्ष गरिदिएको लगानीले मात्र निगम चल्दै आएको छ । निगममा हुने गरेको राजनीतिकरणकै कारण निगम घाटामा गएको हो । कहिले जहाज खरिदमा भ्रष्टाचार कहिले मर्मत त कहिले सिचेक गर्दा पनि कमिसनमा डुब्दा निगम घाटामा गएको हो । उड्डयन क्षेत्र डुब्दै जानुमा जानकारभन्दा पनि राजनीतिक नियुक्तिलाई महत्व दिने भएकाले पनि हो ।











प्रतिक्रिया