काठमाडौं ।
वाइडबडी जहाज खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा खेपिरहेका अन्तर्राष्ट्रिय आपूर्तिकर्ता दीपक शर्मा अमेरिकामा समेत घुस प्रकरणमा दोषी ठहर भएका छन्।
नेपाल वायु सेवा निगमलाई दुईवटा वाइडबडी जहाज बिक्री गर्दा २५ लाख अमेरिकी डलर (३३ करोड २५ लाख रुपियाँ) घुस खुवाएको आरोपमा अमेरिकी अदालतले शर्मालाई दोषी ठहर गरेको हो। शर्मा आफैँले अमेरिकी कानुन ‘फरेन करप्सन प्राक्टिस एक्ट’ विपरीत घुस लिने र खुवाउने गरेको अदालतसमक्ष स्वीकारेपछि उहाँले घुस खाएको पुष्टि भएको हो।
नेपाली मूलका बेलायती नागरिक रहेका शर्मा अमेरिकी उड्डयन सहयोग कम्पनी एएआर कर्पोरेसनको इन्टरनेसनल सप्लाई चेनका अध्यक्ष पनि हुनुहुन्छ । सोही कम्पनीले निगमलाई एयरबस ए ३३० र २०० विमान बिक्री गरेको थियो ।
शर्माले निगमद्वारा दुई ठूला जहाज खरिद गर्दा नक्कली सम्झौताहरू गरेको समेत अमेरिकी अदालतसमक्ष स्वीकार्नुभएको छ। स्रोतका अनुसार एएआर कर्प कम्पनीको अन्तर्राष्ट्रिय आपूर्ति शृंखला प्रमुखको हैसियतमा शर्माले निगमसँगको सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । नेपाललाई विमान हस्तान्तरण गरेपछि भने शर्माले सो कम्पनीको संलग्नता त्याग्नुभएको थियो।
निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो । शर्मालगायतले निगमका उच्च अधिकारीहरूलाई घुस दिन तारन्तार भुक्तानी गरेको समेत पाइएको छ। उनीहरुको गिरोहले भुक्तानीलाई वैध देखाउन नक्कली बिलहरू र सम्झौताहरू तयार पारेको थियो।
उनीहरुले खरिद प्ररकरणमा अग्रिम भुक्तानी भन्दै त्यसरी खुवाइएको करोडौं रुपैया घुसलाई ढाकछोप गरेका थिए । घुस रकम अमेरिका, आयरल्यान्ड र संयुक्त अरब इमिरेट्सको बैंक खाता हुँदै पठाइएको स्रोतले जानकारी दिएको छ । उक्त समूहले आयरल्यान्डमा हाई फ्लाई एक्स नामक डलर पुँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको थियो । पछि सो कम्पनीले एयरबसबाट दुईवटा वाइडबडी विमान खरिद गरी २४ अर्ब रुपियाँमा नेपाल वायुसेवा निगमलाई बिक्री गरेको थियो ।
गत २२ चैत्र २०८० मा वाइडबढीका ती दुई जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मासहित कुल ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले सो अनियमितता प्रकरणमा १ अर्ब ४७ करोड रुपियाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा दायर गरेको थियो । मुद्दा दायर गरिएकामध्ये २४ जना नेपाली, ६ जना विदेशी र २ आपूर्तिकर्ता कम्पनी रहेका थिए ।
अख्तियारले सोही प्रकरणमा पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकरप्रसाद अधिकारीलाई समेत भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले दायर गरेको मुद्दामा विमान खरिदकर्ता निगमका कर्मचारी तथा पदाधिकारीहरू एवं जहाज बिक्रीमा सहभागी विदेशी कम्पनीका प्रतिनिधिहरूको प्रत्यक्ष संलग्नता र मिलेमतोमा अनियमितता भएको दाबी गरिएको छ।
यो मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ। आठ महिना अघि दायर सो मुद्दामा गत २६ कार्तिकबाट विशेषले सुुनुवाइ थाले पनि केही दिनदेखि सो मुद्दा हेर्दाहेर्दैमा राखिँदै आइएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासमा सो मुद्दा सुनुवाइ भइरहेको जनाइएको छ ।











प्रतिक्रिया