काठमाडौं ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज औपचारिक भेटवार्ता हुने भएको छ। चारदिने औपचारिक भ्रमणमा बेइजिङ पुग्नुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति चिनफिङबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो।
सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षरसमेत हुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उहाँले सोही दिन नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जानुभएको थियो। उहाँलाई बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिला उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभएको थियो। सो अवसरमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि आउनुभएको थियो।
प्रतिक्रिया