२५ हजार घुससहित सई अख्तियारको नियन्त्रणमा


रोल्पा।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित प्रहरी नायव निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ । सवारी साधनहरूलाई आवत-जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस-रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई अख्तियारले सोमबार नियन्त्रणमा लिएको हो ।

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए । बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।