रौतहटका दुई वडामा कांग्रेस र एकमा समाजवादी विजयी

6.3k
Shares

रौतहट ।

रौतहटको तीन पालिकाको वडाध्यक्षमा भएको उपनिर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये दुई पालिकाको वडाध्यक्षमा नेपाली कांग्रेस र एक पालिकाको वडाध्यक्षमा नेकपा एकीकृत समाजवादी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

रौतहटको ईशनाथ नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक र राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका समसे आलम विजयी भएका छन् । यस्तै गडीमाई नगरपालिकाको वडा नम्बर ८ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव विजयी हुनु भएको छ।

रौतहटको ईशनाथ नगरपालिकामा यसअघि पराजित भएका नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६ सय २७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनबरले ५ सय ७५ मत प्राप्त गरे। यस्तै राजपुर नगरपालिकामा नेपाली कांग्रेसका समसे आलम ७ सय ४४ मतसहित विजयी भएका छन्।

उनको निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जिकरुलाहले ४ सय ६३ मत प्राप्त गरे। यस्तै गडीमाई नगरपालिकाको वडा नम्बर ८ मा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६ सय ५५ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीउती देबी यादवले ६ सय ३१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।