काठमाडौं ।
स्थानीय तहको उपनिर्वाचनमा २० राजनीतिक दल र स्वतन्त्र गरी ३ सय ७६ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
स्वच्छ, निष्पक्ष र धाँधलीरहित तवरमा निर्वाचन सम्पन्न गर्नका लागि शान्तिसुरक्षाको व्यवस्था मिलाइएको आयोगले जनाएको छ । निर्वाचन आयोगले निर्वाचन आचारंसहिताको पालना गर्न सबैमा आग्रह गरेको छ । आयोगले मतदाताहरुलाई स्वतन्त्रतापूर्वक मतदान गर्न आग्रह गरेको छ। आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । यस उपनिर्वाचनमा सम्बन्धित स्थानीय तह र वडामा गरी कुल २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
मतदानका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र कायम गरिएको छ । आयोगका सहसचिव नीता पोखरेलले गर्भवती, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसख्ययक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यसअघि जिल्ला समन्वय समिति ओलखढुंगा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगंगा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् ।
यी हुन् उपनिर्वाचन हुने स्थानीय तह
कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरीशंकर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगंगा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
त्यसै गरी ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुँदै छ ।
काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।
त्यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुशे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा संकलन भएपछि मतगणना कार्य प्रारम्भ हुने पनि आयोगका प्रवक्ता अर्यालले बताउनुभयो । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट हेर्न सकिने आयोगले जनाएको छ।











प्रतिक्रिया