जलवायु संकट समाधानका लागि बसेको विश्वको सशक्त संगठन कोपको २९ औँ बैठक खासै उपलब्धिविना सकिएको छ। अजरबैजानको बाकुमा भएको यो सम्मेलनपछि अबको अर्को सम्मेलन कोप–३० ब्राजिलमा हुनेछ। धनी देशहरुको आफ्नै ढर्रा छ । गरिब, अल्पविकसित, विकासोन्मुख देशहरुका आफ्नै समस्या छन् । वातावरण, जलवायु परिवर्तनको संकट बढ्दै आएकाले सबैलाई पिरलो नै छ । जीवाष्म इन्धन, कोइला उत्सर्जन, औद्योगिक कल कारखानाका कारण विश्वको मौसम अहिले अनुकूल छैन । कोइला उत्पादक धनी देश छिमेकी भारतको दिल्ली अहिले चरम वायु प्रदूषणमा छ ।
दिल्लीमा अटोमोबाइल कारखानाहरु बन्द छन् । डिजेल प्रयोग हुने धेरै कारखानाहरु बन्द छन् । विद्यालयलाई बिदा दिएर अनलाइन कक्षा सञ्चालन भइरहेको छ । हाम्रो वायु प्रदूषण विश्वको छैटौँ नम्बरमा परेको छ । यसअघि धेरै पटक अग्रपंक्तिमै परेको हो । काठमाडौंलगायत विभिन्न हाम्रा शहरहरु तीव्र प्रदूषणमा छन् र मंसिर महिनासँगै मौसम अनुकूल भइरहेको छैन । जलवायु संकटले हाम्रा दिनहरु खासगरी असौज महिना कसरी व्यतीत भए, हामी भुक्तभोगी छौँ । कमजोर पूर्वाधार, गलेका सडक, कार्तिक महिनाभरिको सडक दुर्घटनाहरुले हामीलाई नराम्ररी चिमोटेको छ र मंसिर आरम्भसँगै प्रदूषणको चिन्ता थपिएको छ । हिउँद यसै पनि पानी कम पर्ने समय, ध्वनि, वायु प्रदूषण अधिक हुन्छ नै । यो क्रम आउने चार महिनासम्म रहने र फेरि मौसम परिवर्तनसँगै हामीलाई हावाहुरी, चट्याङले सताउने नै छ । अतीतदेखि नै हामी प्राकृतिक दुर्घटनाहरुबाट मर्माहत भएकै हौँ, राज्यको ध्यान यसतर्पm गएको छैन र हरेक मौसम हाम्रो राजनीति केन्द्रित हुन्छ । यसै महिनामा उपचुनाव हुँदै छ । चुनाव प्रचार सामग्रीहरुबाट पनि वायुमण्डल बिग्रेको हो अतीतमा ।
कोपमा अहिले १९७ राष्ट्रहरु छन्, हामी पनि छौँ । कोप सम्मेलन बाकुमा निम्तो थियो हामीलाई ३ जनाको, तर ३० जनाको लर्को गयौँ । राष्टृपतिले भाषण पनि गरे । हामी भीक्षार्थी भएका छौँ । हामीले जलवायु परिवर्तनको संकट धेरै भोगेका छौँ । यद्यपि हामीसँगै जीवाष्म इन्धन, कोइलाको प्रयोग वा ठूला उद्योग, कल कारखानाहरु छैनन् र भनिरहेका छौँ हामीले भोगेको संकटका लागि क्षतिपूर्ति आवश्यक छ । कोपमा क्षतिपूर्ति कोष छ । त्यसमा धनी देशहरुले रकम पनि राखेका छन् । त्यो रकम हामीले पाउनुपर्छ भन्दै संसारकै अगाडि दलील पेस गर्दै छौँ र संयुक्त राष्ट्र संघका महसचिव गुटरेस गुहार्दै छौँ । गतवर्ष उनी यहाँ आएर यहाँका हिमालहरुमा भइरहेको संकट हेरेका पनि छन् ।
अजरबैजानको बाकुमा भएको यो सम्मेलनपछि अबको अर्को सम्मेलन कोप–३० ब्राजिलमा हुनेछ । धनी देशहरुको आफ्नै ढर्रा छ । गरिब, अल्पविकसित, विकासोन्मुख देशहरुका आफ्नै समस्या छन् । वातावरण, जलवायु परिवर्तनको संकट बढ्दै आएकाले सबैलाई पिरलो नै छ । जीवाष्म इन्धन, कोइला उत्सर्जन, औद्योगिक कल कारखानाका कारण विश्वको मौसम अहिले अनुकूल छैन ।
कोपको विस्तृत रुप कन्फरेन्स अफ् पार्टिज हो । सन् १९९२ मा शुरुमा जलवायु परिवर्तन संकट समाधानका बारे सहभागी राष्ट्रहरु जम्मा भए, हस्ताक्षर गरे, तिनै हुन् पक्ष राष्ट्रहरु । धेरै देशहरु यसमा हालसम्म खटेर लागेका छन् तर संकट चुलिँदै छ । पश्चिमा धनी देशरुले अहिले नयाँ कोइला उत्सर्जन नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, अस्ट्रेलियालगायत २५ देशहरुले अत्यधिक प्रदूषणकारी जीवाष्म इन्धनको प्रयोग चरणबद्धरुपमा घटाउने भनेका छन् । कोइलाजन्य विद्युत् संयन्त्रहरु नथप्ने भनेका छन् । नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । तर चीन, भारत, अमेरिका विश्वका ठूला औद्योगिक राष्ट्रहरुले यसमा हस्ताक्षर गरेनन् । हस्ताक्षर बाध्यकारी पनि छैन र पहिले युरोपियन युनियन ईयुले ऐतिहासक प्रतिबद्धता गतवर्ष नै गरेको हो । तर कोइला उत्पादन र प्रयोग बढिनै रहेको छ । चीन, भारत, अमेरिकाजस्ता अधिक औद्योगिक देशहरुले यसपालिको कल टु एक्सनमा हस्ताक्षर नहुनु भनेको हात्ती आयो हात्ती आयो फुस्साझैँ भएको छ, कोप–२९ बैठक ।
प्रदूषणको असर व्यापक छ हामीकहाँ । गतवर्ष चैत्र २८ को हावाको मापन हेर्दा संसारकै प्रदूषित देखियो काठमाडौँ । एक्युआई २६५ रह्यो, ३ सय बढी भए त संकटकाल नै हुन्छ । एकदिनअघिको मापन गर्दा संसारको पहिलो दिल्ली शहर थियो, दोस्रो थाइल्यान्डको च्याँग्माई शहर र तेस्रो हाम्रो राजधानी काठमाडौँ । भारत जसले हस्ताक्षर गरेन दिल्ली त प्रदूषणको चपेटामा पहिले पनि परेको हो, एक्युआई ४८२ रेकर्ड भइरहँदा सवारीसाधनमा जोर–बिजोर प्रणाली, विद्यालय बन्द भएको अवस्था हो अतीतमा पनि । धेरै कारणले वायु प्रदूषित हुन्छ, उद्योग कलकारखाना, थोत्रा गाडी, आगजनी र डढेलो, फोहोर व्यवस्थापन गर्न नसक्नु आदि । जनताको घाँटीमा बल्छी हाल्न हाम्रा ३ तहका सरकार सक्रिय छन् तर प्रदूषण नियन्त्रणमा यी उदासीन छन् । देशैभरि डढेलो, आगलागीका घटना नियन्वेषण गर्न गएका सेनाहरु नै मरे डोल्पामा । अन्य भूभाग बारा, अर्घाखाँची, रुकुम पश्चिम, पाल्पा, ओखलढुंगा, पोखरा, सर्लाही कैयन् स्थानहरुमा घर जले, धेरै सामान नष्ट भए । गृह मन्त्रालय विपद् न्यूनीकरण प्राधिकरणले एउटा तथ्यांक सार्वजनिक गरिदियो, बस् ०८० सालभरिमा आगलागीबाट मर्नेको संख्या १०२ पुग्यो, ३ हजार ७ सय ९५ बढी घटना घटे, आगलागीका । ४ हजार ७२५ घर परिवार प्रभावित भए, २ अर्ब ३३ करोड बढीको क्षति भयो । त्यसो त चट्याङबाटै ४३ जनाको मृत्यु, सर्पदंशबाट २० को मृत्यु, हिम पहिरोबाट १२ जना मरे । जंगली जनावरबाट ४३ जना मरे, वन डढेलोबाट मात्रै मर्ने पनि ५ जना बढी देखिए, कलैयामा विमान चलेन । हाम्रो नियति हो यो, बर्सेनि यस्ता घटना दोहोरिएका छन् र अभिभावक भनिएको राज्य कता छ, थाहा छैन, उसको काम अभिलेखीकरण गर्ने मात्रै भएको छ । अस्ति असौज ११, १२ गतेको दर्दनाक अवस्थालाई कसरी बिर्सने, राजधानीमै मान्छे मरे, बाढीले तमाम क्षेत्र डुबायो, नदीको जमिन आसपास थप २० मिटर छोड्न अदालतले परमादेश जारी गर्दा सरकार त्यसको भ्याकेटका लागि तम्सिएको छ, धेरै धनजनको क्षति हुँदा सहयोग ओइरो पनि लागेको छ र यसैैमा व्यापार गर्ने हातहरु पनि हाम्रै भएका छन्, मानवीय संवेदनशीलता हराएको छ हाम्रो समाजमा पैसाबाहेक अरु नदेख्ने आँखाहरु छन् सबैतिर ।
सेप्टेम्बरदेखि फेब्रुअरीसम्मको समय बढी जाडो हुने, वर्षा न्यून हुने भएकाले प्रदूषण वृद्धि हुने गर्छ भने दिल्लीले त कृत्रिम वर्षा गराउने पनि भनेको थियो पहिले । वात भन्नाले हावा र त्यसको ढकनी भन्नाले आवरण बुझिन्छ, वात र आवरण शब्दले वातावरण भनौँ हामी वरिपरिको हावा भन्ने बुझिन्छ, जुन तीव्ररुपमा प्रदूषित छ । संविधानले हरेक नेपालीलाई स्वच्छ वातावरणको हकको व्यवस्था गरेको छ । संविधानमा व्यवस्था भएअनुसार पत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुनेछ । त्यस्तै वातावरणीय प्रदूषणबाट हुने क्षतिबापत पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति प्राप्त हुने उल्लेख छ । विकाससम्बन्धी कार्य र वातावरणबीच सन्तुलन गरिने पनि उल्लेख छ । प्रदूषणमुक्त वातावरण सन्तुलित र संरक्षित हुन धेरै विषयको ख्याल गर्नुपर्ने हुन्छ । वायु प्रदूषणका कारण वृद्ध, बालबालिका, गर्भवती महिलाहरु बढी आक्रान्त हुने गर्छन् । दम रोग, फोक्सो, मुटु, मस्तिष्क, क्यान्सरको समस्या, दीर्घ रोगीहरुका लागि त प्रदूषण घातक नै हो । झन् कोरोना र डिंगोपछि मानव स्वास्थ्य थप कमजोर छ । उद्योग, कल, कारखानाको धूलो, पुराना गाडी, मान्छेको भीड, खुल्ला ढल, हाम्रो बाटोको अवस्थाले प्रदूषणको यथार्थ अवस्था देखिन्छ ।
विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तरको मात्रा तोकेको तर तोकिएको भन्दा २५ गुणा खराब भएको काठमाडौँको वायुको गुणस्तर विश्वमै पहिलो भएकोे होे, बिर्सियो सबैले, संस्थागत मेमोरी नभएपछि खासै चासो हुन्न । वातावरण विभागले देशभर १४० स्थानमा डढेलो लागेको बारा, पर्सा, चितवन, काठमाडौँलगायत पूर्वी क्षेत्रमा वातावरण असहज भएको भन्यो, तर एक नम्बर भन्न उसले स्वीकारेन पोहोर साल । त्यसो त दक्षिण एसियामा सबैभन्दा प्रदूषणको समस्या छ, त्यसमा पनि भारतको दिल्लीलगायत अन्य केही भाग, अन्य क्षेत्र ढाका, हनोई, बैंककजस्ता शहरहरु बढी मारमा छन् । विश्वका १०१ शहरको वायुको मात्रा मापन गर्दा हाम्रो राजधानी काठमाडौँले अग्रणी स्थान ओगटेको हो ।
प्राकृतिक वातावरणको संरक्षण, पुनःस्थापन र बुद्धिमतापूर्ण उपयोगमा जोड दिने, शहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसहरुलाई बाँच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापनका सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजनाहरु प्रस्तुत भए ।
छैटौँ पञ्चवर्षीय योजनाअवधिदेखि नै वातावरणप्रति सचेत हुँदै आएको हो । मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन गर्दैै दिगो विकासको अवधारणालाई आत्मसात् गर्ने भनियो । वातावरण निर्देशिका २०५३, वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ कार्यान्वयन हुँदै आएको हो, तर काम भने कर्मकाण्डी मात्रै भयो । सहस्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेन्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता भनियो । स्थानीय स्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्फ प्राथमिक तहदेखि विश्वविद्यालय स्तरसम्म शिक्षाको पठनपाठन चालू भएर राष्ट्रिय स्तरमा उच्च स्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट गरिने भनियो तर जति नीति र योजना बने, देश भने पछिल्तिर धकेलिन थाल्यो, सबै विषय गएर ठोक्किएको छ, अस्थिर राजनीतिमै । राजनीति दूषित छ।
पछिल्ला दिनहरुमा देखिएका तमाम भ्रष्टाचारका केसहरुले पनि सोको पुष्टि गरेका छन् । देशमा उन्नत लोकतन्त्र र गणतन्त्र भनिरहँदा जनताको निद्रा भने हराम भएको छ । र, खाडीमा सुतेका छन् नेपालीहरु अनि आर्यघाटमा बन्दी बाकसमा आइरहेका छन् । अति सुन्दर देश नेपाललाई थप सुन्दर बनाउने भन्दा पनि गणतन्त्र, संघीयता, लोकतन्त्रका सम्बाहकहरु परिवारवाद, नातावाद र पैसामुखी अनि सुशासन र सेवाप्रवहामा उदासीन छन्, जनआक्रोश चुलिएको छ र भ्रष्टाचारको कुरा गर्दा अभियन्ताहरु नियन्त्रणमा परेका छन्, लोकतन्त्रमा निषेध सुहाउँदैन, पारदर्शिता, जिम्मेवारीबोध, योग्यता, विज्ञता र क्षमता नै लोकतन्त्रको आदर्श हो ।
प्रतिक्रिया