काठमाडौं ।
पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा शतबीज छरिएको छ। प्रत्येक दिन मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिनमा पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिएको हो।
पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरुप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकैका क्षेत्रमा आज बिहानैदेखि दिवङ्गत पितृका नाममा शतबीज छर्ने भक्तजनको घुइँचो लागेको थियो। शुक्रबार बेलुकीदेखि पशुपति क्षेत्रमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानैदेखि शतबीज छर्ने र समापन गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
शुक्रबार रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले बिहानै वाग्मती नदीमा दीप सेलाएर चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन्।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्। यसरी आएका श्रद्धालु भक्तजनको शुक्रबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लागेको थियो ।
बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको कोषले जनाएको छ। बालाचतुर्दशीको पशुपतिनाथ मेला समापन गर्न पशुपति क्षेत्रमा बिहीबार बिहानैदेखि सुरक्षाकर्मीलगायतको बाक्लो उपस्थिति छ। आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ।
प्रतिक्रिया