मदन भण्डारी एकेडेमीले राष्ट्रव्यापी खेल प्रतियोगिता आयोजना गर्ने


काठमाडौं ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रव्यापी प्रतियोगिताका साथै प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

एकेडेमीले भलिबल, फुटसल, तेक्वान्दो, टेबल टेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलको राष्ट्रिय प्रतियोगिता गर्ने भएको हो।

पोखरा वा काठमाडौंमा आगामी चैतदेखि अर्को वर्ष वैशाखसम्म केपी ओली कप राष्ट्रिय पुरुष क्रिकेट हुने भएको छ। यस प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले पाँच लाख र सेमिफाइनलिस्टले समान दुई लाख पाउनेछन्। बेस्ट प्लेयरले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

एकेडेमीको १६औं स्थापना दिवसको अवसरमा मदन भण्डारी कप इन्डो नेपाल पुरुष भलिबल प्रतियोगिता बुटवलमा आगामी पुषमा हुने तय छ । यस विजेताले सात लाख ५० हजार, उपविजेताले तीन लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख ५० हजार र सान्त्वना पुरस्कार स्वरुप एक टोलीले एक लाख रुपैयाँ पाउनेछन् । बेस्ट प्लेयरले भने २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

साथै एकेडेमीले सातै प्रदेशमा ३२ औं मदनभण्डारी स्मृति खेलाडी, अफिसियल तथा खेल सम्बन्ध व्यक्तित्वहरूमा तालिम, प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने उल्लेख गरेको छ। यी कार्यक्रम आयोजना गर्न अनुमानित करिब १० करोड ६६ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ लागत लाग्ने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई करोड रुपैयाँ प्रदान गर्ने भएको छ।

एकेडेमीले अघिल्लो आर्थिक वर्षमा १२ विधा खेल आयोजना गरेको थियो। एकेडेमीले यसपल्ट बढाएर १८ खेल विधाको प्रतियोगिता, समान एक प्रशिक्षण र सामाजिक कार्यक्रम समावेश गरेको छ।