तोरणसँग राहुलले उपाधि खोसे


काठमाडौं ।

सूर्य नेपाल गल्फ टुर २०२४÷२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल बिकेले जितेका छन्।

अन्तिम दिन ५ अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अन्डर २ सय ७६ स्कोर बनाएर उपाधि जित्न सफल भए। राहुलले दाबेदार सद्भावलाई ५ स्ट्रोकले हराउँदै एमेच्योरतर्फको पनि उपाधि जिते । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव तेस्रो भए ।

प्रो तोरण विक्रम शाहीले अघिल्ला तीन दिन लगातार अग्रता बनाएपनि अन्तिममा उनीमाथि राहुलले एक स्ट्रोकको अग्रता बनाएर उपाधि खोसे । उनको यो सूर्य नेपाल गल्फ टुरमा करियरकै पहिलो उपाधि समेत हो।

गोकर्ण गल्फ क्लबमा अन्तिम १८ होलको खेल सुरू हुँदा तोरणले राहुल र सद्भावमाथि चार स्ट्रोकको स्पष्ट अग्रता लिएका थिए। तोरणको उपाधि जित्ने संभावना धेरै थियो। राहुलले दोस्रो, तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। उनले बोगीरहित फ्रन्ट नाइन ४ अन्डर ३२ स्कोरमा सकाए।

लगातार तीन दिन शीर्ष स्थानमा रहेका तोरणले पहिलो होलको बोगी विरूद्ध तेस्रो होलको बर्डीले फ्रन्ट नाइन इभन पार ३६ मा सकाए । फ्रन्ट नाइनको खेल सकिँदा राहुलले खेललाई बराबरीमा पुर्‍याए। तोरण र राहुल समान ११ अन्डरमा थिए ।

यसपछि ब्याक नाइन होलको खेलमा तोरण र राहुलको कडा प्रतिस्पर्धा चल्यो । राहुलले ११ औं र १२ औं होलमा बर्डी प्रहार गरे। तोरणले भने १० औं र १३ औं होलमा एक–एक सट बचाए । १५ औं होलमा बोगी प्रहार गर्दा १५ औं होलको खेल सकिँदा खेल बराबरीमा पुग्यो ।

१६ औं होल राहुलको लागि टर्निङ प्वाइन्ट बन्यो । उनले करिब २५ फिटबाट बर्डी प्रहार गरे । राहुलले एक स्ट्रोकको अग्रता बनाए । १७औं होलमा दुवैले बोगी र १८औं होलमा दुवैले पार खेल्दा राहुलले एक स्ट्रोकको अग्रतामा उपाधि जिेतका थिए ।

तोरण इभन पार ७२ खेल्दा उपाधिबाट चुकेका हुन्। उनले समग्रमा ११ अन्डर २ सय ७७ स्कोर गरेका थिए। तर, गल्फको नियमअनुसार एमेच्योरले उपाधि जितेपनि प्रोफेशनल खेलाडीले नै नगद पुरस्कार प्राप्त गर्दछन्। सोहीअनुसार तोरणले दोस्रो भएपनि पहिलो पुरस्कार १ लाख ५० हजार नगद खल्तीमा राख्न सफल भए।

यसैगरी समग्रमा ३ अन्डर २ सय ८५ स्कोर बनाएका धरानका प्रो निरज तामाङ र नेपाल नम्बर एक प्रो भुवन नगरकोटी संयुक्तरुपमा चौथो स्थानमा रहे। प्रोफेसनलतर्फ संयुक्तरुपमा दोस्रो भएका उनीहरूले समान ८७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे।

यसैगरी सुनिल केसी र जयराम श्रेष्ठ संयुक्तरुपमा छैटौं हुँदैं जनही ५८ हजार नगद आफ्नो नाममा लेखाए। अन्य स्थानतर्फ राजेन्द्र थापामगर आठौं, सञ्जय लामा नवौं र भुवनकुमार रोक्का दशौं भए। उनीहरूले क्रमशः ४६ हजार, ४२ हजार र ३८ हजार नगद पुरस्कार प्राप्त गरे।